|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बुधवार मधेश झर्दैछन्। मधेश आन्दोलनको क्रममा ‘आक्रामक’ देखिएका नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली कुनै औपचारिक कार्यक्रमलाई सम्बोधन गर्न भने मधेश जान लागेको होइनन्।

विद्यालय भर्ना अभियान अन्तर्गत एक अभिभावकको भूमिका निर्वाह गर्न उनी मधेश जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। विद्यालय भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्नाका लागि प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ।

सिरहाको कल्याणपुर नगरपालिकास्थित रामदुलारी मा.वि.मा विद्यार्थी भर्नाका लागि प्रधानमन्त्री ओली बुधबार सिहरा जानेछन्। प्रधानमन्त्री ओलीले कल्याणपुर–११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक (डोम) र दिनेश खत्वेकी छोरी रुपाकुमारी खत्वेको अभिभावकत्व गर्दै विद्यालय भर्ना गर्ने कार्यक्रम छ।  प्रधानमन्त्री ओलीले ती दुईजनालाई न्युनतम आठ कक्षासम्म पढाउनका लागि सम्पूर्ण खर्चको जिम्मेवारी लिएको बताइएको छ।

त्यस अवसरमा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र जिल्ला प्रशासन सिरहाका प्रमुखले पनि अभिभावकत्व लिने कार्यक्रम छ।

सरकारले सञ्चालन गरेको विद्यालय भर्ना अभियानलाई अगाडि बढाउन प्रधानमन्त्री सिरहा जान लागेका हुन्। यसअघि कर्णालीका बालबालिकाको पनि प्रधानमन्त्रीले अभिभावकत्व लिएका छन्। सरकारले सबै नेता, उच्च पदस्थ व्यक्तित्व, कलाकार तथा सामाजिक अभियन्ता सबैलाई विद्यालय बाहिर रहेका बालकालिकालाई भर्ना गर्न आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.