|

चितवन : प्रतिबन्धित लागूऔषध गाँजासहित प्रहरीले मंगलबार चितवनको भण्डाराबाट दुई जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो १ बजे चितवनको राप्ती नगरपालिका ११ चैथलीस्थित गोठमा लुकाई राखिएको अवस्थामा ११२ किलो गाँजासहित दुई जना पक्राउ परेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय चितवनको पाँच रणनीतिक योजनाअनुसार लागू औषध ओसारपसार नियन्त्रणका लागि चलाइएको कारबाही अभियानका क्रममा यसरी उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका ११ चैथलीका ५० वर्षीया  ठुलीमाया तामाङ र सोही ठाउँका २३ वर्षीय तिलक तामाङ रहेको ढकालले जानकारी दिए।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका ११ स्थित ठुलीमायाको गोठमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको थियो। 

गोठमा बोरामा हाली लुकाई राखेको अवस्थामा ११२ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको र उक्त लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक ढकालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.