|

दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकाले जिल्लाका १२ वटा विद्यालय मर्ज गरेको छ। निजी क्षेत्रमा शिक्षक राख्ने, आफ्ना मान्छेलाई जागिर खुवाउन विद्यालय संचालन गर्ने विगतको प्रचलन तोड्दै भगवतीमाई गाउँपालिकाले १२ वटा विद्यालयलाई विभिन्न स्थानमा समायोजन गरेको छ।

गाउँपालिकाको शैक्षिक अवस्था सुधारसँगै शिक्षा क्षेत्रमा भएको फजुल खर्च रोक्ने अभियानअन्तर्गत विद्यालय मर्ज गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए। विद्यालयको दूरी, शैक्षिक अवस्था, विद्यार्थी र शिक्षकहरूको अवस्थाको बारेमा गहन अध्ययन, छलफल र बहसपश्चात विद्यालय मर्ज गरिएको हो। 

गाउँपालिकाले गठन गरेकाे शैक्षिक सुधार कार्यदलको प्रतिवेदनलाई आधार मानेर स्थानीय सरकार संचालन एेन, २०७४ को दफा ११ (ज) २ तथा भगवतीमाई गाउँपालिकाको शिक्षा ऐन, २०७४ को दफा (१०) को उपदफा १ बमोजिम विद्यालय मर्ज गरिएको हो। मर्ज हुने विद्यालयहरूमा १ देखि ३ कक्षासम्म संचालित आधारभूत विद्यालय भगवती बगौरालाई सरस्वती मावि गन्ममा गाभिएको छ। १ देखि ५ कक्षासम्म संचालन भएको रानीचौर विद्यालयको ४ र ५ कक्षा जनता माविमा गाभिएको छ। 

१ देखि ५ कक्षासम्म संचालन भएको नेरामावि चिउरालाई जनता माविमा गाभिएको छ। १ देखि ८ कक्षासम्म संचालन भएको कुल्सेबुंचीलाई १ देखि ५ कक्षासम्म राखिएको छ। ६ देखि ८ कक्षालाई कालिका मावि डौरी मन्घरमा गाभिएको छ। सरस्वती आधारभूत विद्यालय कैलाश डाँडामा रहेको १ देखि ५ कक्षासम्मको विद्यालयलाई १ देखि ३ कक्षासम्म कायम गरिएको छ र कक्षा ४ र ५ लाई तप्लुंङमा गाभिएको छ। 

गाभिएका विद्यालयमध्येका शिक्षकलाई समेत सोहीअनुसार समायोजन गरिएको छ। निजी स्रोतबाट विद्यार्थी पढाएका ८१ जनामध्ये विषयगत आधारमा पुनः परीक्षा लिएर केहीलाई मात्र राख्न सकिने गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाका अनुसार विद्यार्थी न्यून भएका विद्यालयहरूमा शिक्षक तलबलगायत भौतिक पूर्वाधारमा हरेक वर्ष लाखौं रुपैयाँ खर्च हुने गरेको छ।

खर्चअनुसार उपलब्धि न्यून देखिएपछि गाउँपालिकाको पहलमा नतिजाका आधारमा सर्वदलीय बैठक आयोजना गरेर समस्या समाधानका लागि विद्यालय गाभ्ने काम सुरु गरिएको बताए। भर्खरै सम्पन्न कक्षा ८ को नतिजाको मूल्यांकन गर्दा शैक्षिक अवस्था निकै नाजुक भएको प्रारम्भिक नतिजा प्राप्त भएपछि १२ वटा विद्यालय मर्ज गरिएको अध्यक्ष थापाले बताए। विद्यालय मर्ज गर्दा निजी स्रोतबाट पढाउँदै आएका ८१ जना शिक्षकहरूको जागिर जाने देखिएको छ। गाउँको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा कडाइ नगरे गाउँपालिकाको विकास संभव नभएको ठहर गाउँसभाले गरिरसकेको थापाले बताए।

सहमतिपछिको अभियान 

विद्यालय मर्जबारे विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सदस्य, गाउँपालिकाका राजनीतिक दलसँग विभिन्न चरणमा छलफल बहस र परामर्श गरेर कार्य प्रारम्भ भएकाले त्यति धेरै विरोध गर्ने ठाउँ नदेखिएको भगवती आधारभूत विद्यालयका प्राधानाध्यापक गणेश अधिकारीले बताए। ‘हाम्रो विद्यालय त पूरै गाभिएको छ, करिव ३० मिनेटको दूरीमा रहेको सरस्वती मावि गन्ममा गाभिएको छ’, प्राधानाध्यापक अधिकारीले  भने, ‘मर्ज गरिएका विद्यालय सबैको पायक पर्ने ठाउँमा छन्। त्यसैले यसमा धेरै समस्या छैन। गाउँपालिकाले गाउँको शैक्षिक अवस्था सुधारका लागि गरिएको प्रयासमा हाम्रो ऐक्यवद्धता छ।’ 

नयाँ शैक्षिक शत्रको सुरुवातमै विद्यालय मर्ज गरेर अभियान थाल्ने भगवतीमाई गाउँपालिका दैलेखको पहिलो गाउँपालिका हो। कक्षा १ देखि ८ सम्म संचालन भएको कुल्लेचुगीं विद्यालयमा विद्यार्थी कम भएपछि १ देखि ५ सोही विद्यालयमा राखिएको छ भने ६ देखि ८ कक्षा सम्मका तीनवटा कक्षा कालिका मावि डौरी मन्घरमा गाभिएका छन्। कुल्लेचुगींका प्राधानाध्यापक गोविन्दप्रसाद उपाध्यायले विद्यार्थी, शिक्षक उचित व्यवस्थापन गरेर विद्यालयको शैक्षिक अवस्था सुधारका लागि गरिएको प्रयास राम्रो भएकाले सबैले सहमति दिएको बताए। 

निजी स्रोतमा लामो समयदेखि पढाइरहेका विषयगत निकै राम्रा शिक्षकहरूले जागिर छुट्ने अवस्था आएको छ। त्यसका लागि गाउँपालिकाले तत्काल व्यवस्थापनको पहल गर्नुपर्ने सुझाव उपाध्यायको छ। गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले अंग्रेजी, विज्ञान र गणितमा अध्यापन गराएका राम्रा शिक्षकहरूको लागि तत्कालै नयाँ व्यवस्था गरेर व्यवस्थापन गरिने बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.