|

काठमाडौं : चीन सरकारको सहुलियत ऋणमा उपलब्ध गराइएका दुईवटा विमान नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यु होङले विमानको संयुक्त उद्घाटन गरे। 

कल साइन नाइन एन–एकेयु र नाइन एन–एकेभी विमान करिब डेढ महिनाअघि काठमाडौं ल्याइएको थियो। दुवै विमानको यात्रु क्षमता १७ सिट छ। यी दुईसहित छवटा चिनियाँ विमान नेपाल आइसकेका छन्। 

छ विमानमध्ये दुई विमान वाई १२ र एमए ६० (५६ सिट क्षमताका) विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाई १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ। 

वि.सं. २०६९ मा नेपाल र चीन सरकारबीचको प्रत्यक्ष सम्झौता भएबमोजिम कुल छवटा जहाज नेपाल वायुसेवा निगमले ल्याउने र त्यसमा दुईवटा अनुदान र चारवटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो। 

चीन सरकारले बाँकी दुईवटा विमान पनि हस्तान्तरण गरेपछि नेपालको आन्तरिक उडानले फड्को मार्ने आशा पलाएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए। उनले विमानको मर्मत, संहारका विषयमा पनि चिनियाँ कम्पनीसँग कुरा भइरहेको पनि जानकारी दिए। निगमले यी दुईवटा विमान तराई क्षेत्रमा संचालन गर्ने योजना पनि बनाएको छ।

निगमका पुराना तीनसहित नौवटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएका छन्। हाल निगमले देशका विभिन्न २० गन्तव्यमा आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ विभिन्न मुलुकका आठवटा गन्तव्यमा नियमित उडान भर्दै आएको छ। निगममा विमान भित्रिए पनि विमान चालक (पाइलट) अभावका कारण तीनवटा विमान लामो समयदेखि थन्किएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.