|
तस्विर– indiancookingmanual.com

वैदिक धर्मशास्त्रमा विशेषगरी जाडो, गर्मी र वर्षा गरी तीन ऋतुको व्यवस्था रहेको छ। साथै यीसँगै जोडिएर आउने वसन्त, ग्रीष्म र हेमन्तको चर्चा पनि गरिएको पाइन्छ। यसरी कालगणनाका लागि वर्षमा ६ ऋतुको व्यवस्था गरिएको छ। ऋतुअनुसारको जीवनचर्या अपनाउने र त्यसअनुसारको खानपान गर्ने गरे स्वास्थ्य रक्षा हुने र मानिसले चाहेअनुरूप पुरुषार्थ गर्न सक्ने बताइएको छ। एक ऋतु सकिएर अर्को लाग्दा पहिले गरिएका खानपान र दिनचर्या परिवर्तन गरी नयाँ शैली अपनाउनुपर्ने विधान आयुर्वेदमा छ। 

कालगणनाका हिसाबले वैशाखलाई वसन्त ऋतु मानिए पनि अयन चलनले ऋतु अगाडि आउने कारण ग्रीष्म ऋतुका चाडपर्व वैशाखबाटै मान्ने भन्ने विभिन्न ग्रन्थमा बताइएका छन्। ग्रीष्म ऋतुमा सूर्यको किरण कडा हुने र पृथ्वी वा मानिसमा रहेका रसको अवशोषण हुने भएकाले शीतल तथा रसवर्धक पदार्थ सेवन गर्नु उपयुक्त हुन्छ। यतिबेला गर्मीले खानामा अरुचि हुने कारण मधुर (गुलियो) र मीठो पदार्थ खानु हितकारक मानिएको छ। 

आयुर्वेदअनुसार गर्मीयाममा मोही र सख्खरको सर्वत उपयुक्त बताइएको छ। शरद ऋतुको माघ महिनाभरि तिल र गुडको प्रयोग गरेजस्तै ग्रीष्म ऋतु वा वैशाख महिनामा जौबाट निर्मित पदार्थ खानुपर्ने निर्देश पाइन्छ। हिजोआज महिनाभरि गर्न नसके पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन यो प्रक्रिया अपनाइएको पाइन्छ। यो दिन सर्वतमा विभिन्न पदार्थ मिसाई माटाको भाँडामा राखेर देवीदेवतालाई चढाउने, दान गर्ने र आफू पनि खाने परम्परा छ। गाउँघरमा कतिपयले दिनभरि बाटामा हिँड्ने बटुवालाई सर्वत र सातु खुवाउने गर्छन्।

ऋतुअनुसारको जीवनचर्या अपनाउने र त्यसअनुसारको खानपान गर्ने गरे स्वास्थ्य रक्षा हुने र मानिसले चाहेअनुरूप पुरुषार्थ गर्न सक्ने बताइएको छ। एक ऋतु सकिएर अर्को लाग्दा पहिले गरिएका खानपान र दिनचर्या परिवर्तन गरी नयाँ शैली अपनाउने विधि आयुर्वेदमा छ। 

अक्षय तृतीयाको महत्त्व
वैशाख शुक्ल तृतीयालाई अक्षय तृतीया भनिन्छ। पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको भनिएको छ। कतै सत्ययुगादि तिथि पनि भनिएको छ। यसैदिन सत्ययुगमा महादेव र पार्वतीको विवाह भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ। त्यसैले यो दिन विवाह गर्न मुहूर्त्त हेरिरहनुपर्दैन भन्ने सामाजिक मान्यता छ। 

यसैगरी भगवान् विष्णुका छैटौं अवतार परशुरामको जन्मदिन पर्छ। यो दिन गरिने अन्न–जलदानको ठूलो महत्त्व हुने अथवा गरिएको दान जस्तै भए पनि क्षय नहुने भएकोले अक्षय तृतीयाको नाम दिइएको हो। भविष्यपुराणमा भनिएको छ– यत्किञ्चिद्दीयते दानं स्वल्पं वा यदि वा बहु\ तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता अर्थात् यो दिन गरिएको धेरै वा थोरै दानको फल अक्षय हुन्छ। 

देवीपुराणमा रोहिणी नक्षत्रयुक्त वैशाखशुक्ल तृतीयालाई विशेष फलदायी मानिएको छ। वैशाख कृष्ण औँसीपछि तेस्रो दिनमा पर्ने अक्षय तृतीया तिथि घटबढका कारण यो वर्ष दोस्रो दिनमै परेको छ तर वैदिक पात्रोअनुसार बुधबार तृतीया तिथि नै हो। ‘तिथि टुट्दैन, अहोरात्र रहन्छ’ भन्ने वैदिक कालगणना पद्धति नअपनाइएका कारण यस्तो हुने गरेको हो। अर्वाचीन कालगणना पद्धतिअनुसार कतैकतै यस दिनलाई चतुर्थीयुक्त लिनु भन्ने पनि  निर्देश छ। 

यो दिन विशेषगरी पवित्र तलाउ, नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान पुराणादि ग्रन्थहरूमा पाइन्छ। यसैगरी यो दिन जौको सातु र जलसहितको घडादानको महिमा ठूलो रहेको छ। ब्रह्मा, विष्णु र महेश्वरको आवाहन गरी गरिएको घटदानबाट मनोरथ सिद्धि हुने बताइएको छ।

अन्नहरूमा जौलाई महत्त्वपूर्ण मानिन्छ। अन्नहरुमा सर्वश्रेष्ठ पदार्थ मात्र नभई भगवान् विष्णुको प्रियवस्तु समेत मानिन्छ– जौ। संस्कृतका ग्रन्थहरुमा यवोऽसि धान्यस... अर्थात् जौलाई अन्नको राजा भनिएको छ। श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णले ‘औषधिनामहं यव’ अर्थात् औषधिहरूमा म जौ हुँ भनेको सन्दर्भ आउँछ। यी सन्दर्भहरूबाट पनि जौको महत्त्व कति रहेछ भन्ने कुरा प्रष्ट हुन्छ। आयुर्वेदिक ग्रन्थहरुमा जौ र जौको अंकुरबाट गर्न सकिने उपचारहरुको उल्लेख गरिएको पाइन्छ। आयुर्वेदिक अनुसार जौ पुष्टिवर्धक अन्न, शरीरलाई शीतलता प्रदान गर्ने र पाचन प्रक्रियाका लागि पनि उपयोगी वस्तु हो। 

पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ अक्षय तृतीयाबाट भएको बताइएको छ। कतै सत्ययुगादि तिथि पनि भनिएको छ। यसै दिन सत्ययुगमा महादेव र पार्वतीको विवाह भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ। यसैगरी भगवान् विष्णुका छैटौं अवतार परशुरामको जन्मदिन पर्छ।

आधुनिक चिकित्सामा पनि जौको प्रयोग व्यापक रूपमा भइरहेको पाइन्छ। अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्त्व भन्दा जौ वा जौको अंकुरमा पाइने तत्त्व तुलनात्मक रूपमा बढी हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन्। जौबाट बनेका खाद्य पदार्थको सेवनले शरीरमा तागत दिने हाम्रै घरेलु प्रयोगबाट स्पष्ट हुन्छ।

वैशाख महिना जौ तयार हुने समय हो। उष्णताले आक्रान्त पार्ने यो समयमा शरीरलाई फाइदा पुर्‍याउने एवं शीतलता प्रदान गर्ने जौको सातु एवं सख्खर, अदुवा, मरिच र अन्य मसला मिश्रित सर्वत दान दिएर आफूले पनि प्रयोग गर्नु स्वास्थ्य रक्षा वा धार्मिक हिसाबले पनि मनासिव देखिन्छ। 

दानको महिमा
हाम्रा धार्मिक ग्रन्हरूमा दानको ठूलो महिमा बताइएको छ। श्रीमद्भागवतगीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई ज्ञान दिने क्रममा ‘यज्ञो दानं तपश्चैव पावनानिमनीषिणाम्’ अर्थात्, ‘यज्ञ दान र तपले बुद्धिमानहरुलाई पवित्र बनाउँछ’ भनेका छन्। गच्छेअनुसार यथाशक्ति दान  दिनु र दान दिँंदा समय परिस्थितिअनुसार अनुकुल हुने वस्तु दिँंदा पुण्य प्राप्त हुने शास्त्रहरुले बताएका छन्। 

यसैगरी दान दिँंदा पात्रको पनि विचार गर्नुपर्ने शास्त्रहरूमा पाइन्छ। दान सँधै  सत्पात्रलाई मात्र गर्नुपर्ने कुरामा ध्यान दिनुपर्दछ। पहिचान नगरी वा विचार नपुर्‍याई दिइएको दान कुपात्रमा परे कुप्रयोग हुने हुँदा सत्पात्रलाई नै दान दिनुपर्छ। सत्पात्रले दानका वस्तु सुकर्ममा प्रयोग गर्ने हुनाले दान दिने र दिने दुवैको कल्याण हुन्छ। झन् अक्षय तृतीयाको दिन गरिएका जलघडा, सातु, सर्वत लगायतका दान झनै पुण्यदायक हुने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.