|

चितवन : वन्यजन्तुको आनीबानी थाहा नहुँदा कतिपय अवस्थामा मानिस आक्रमणमा पर्ने गरेका छन्। तर, हात्ती, बाघ, गैंडा, चितुवा, भालुलगायत वन्यजन्तुको आनीबानी थाहा पाए दुर्घटना हुनबाट जोगिन सकिने संरक्षणकर्मीले बताएका छन्। 

बाघ लजालु प्रजातिका जनावर भएकाले मानिसलाई हत्तपत्त आक्रमण गरिहाल्दैन। एक्कासी जम्काभेट हुँदा, घाइते अवस्थामा, मान्छे खान बानी लागेको र बच्चासँग भएको बाघ मात्र रिसाहा हुन्छन्। त्यसैले यस्ता बाघसँगै टाढै बस्नुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत ऋषिराम सुवेदी बताउँछन्। 

चितवनको रत्ननगरस्थित चित्रसेन वनमा स्थानीयलाई वन्यजन्तुको आनीबानीबारे बताउँदै सुवेदीले भने, ‘बाघले जहिले पनि पछाडि या अगाडिबाट घाँटीमै आक्रमण गर्छ, नजिक नजाने, नजिस्काउने, हल्ला नगर्ने, देखेपछि विस्तारै पछि हट्ने गरे बाघ आफैं तर्किन्छ।’ 

मान्छे खान पल्किएका बाघ भने लुसुक्क लुकेर अर्काेतिरबाट घुमेर आक्रमण गर्ने उनको भनाइ छ। त्यसैले पाइला ताजा छन्, नंग्रा फिजारिएको, लतारिएको छ, कतैकतै रगत देखिएको छ भने त्यस क्षेत्रबाट बाहिर निस्कनु बेस हुने सुवेदीको सुझाव छ। 

यस्तै, गैंडा आफ्नै सुरको जनावर हो। यो बाघभन्दा लाटो हुन्छन्। नजिक नपरेसम्म यसले आक्रमण गरिहाल्दैन। हान्न आयो भने रुखमा छेलिँदा, रुख चढ्दा या बांगोटिंगो भाग्दा बच्न सकिने नेचर गाइड डोमा पौडेल बताउँछिन्। 

हात्ती भने चलाख हुने भएकाले सतर्क हुनुपर्ने उनले बताइन्। परैबाट लखेट्ने स्वभावको हुने भएकाले हात्तीबाट जोगिन नजिक पर्नु हुँदैन। कुनै ठुलो रुख चढ्ने, कुनै खोल्सा, ठुलो लडेको रुख पारगर्न सक्यो भने हात्तीबाट केही हदसम्म जोगिन सकिने विज्ञहरुको सुझाव छ। 

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक सकेसम्म वन्यजन्तुको नजिक जान नहुने, जानै परे सावधानी अपनाउनुपर्ने सुझाउँछन्। बच्चा हुँदा, घाइते तथा अन्य विभिन्न कारणले चितुवा, भालु पनि आक्रामक हुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.