|

गौशाला : मंगलबार राति आएको भीषण आँधीहुरीमा परी महोत्तरीमा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार राति  साढे ७ बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ की ३० वर्षीया सकुन्तलादेवी सिंहको मृत्यु भएको हो। 

आफ्नै आँगनमा रहेको कम्पाउण्डको पर्खाल ढल्दा च्यापिएर गम्भीर घाइते भएको उनको उपचारका लागि जलेश्वर अस्पताल ल्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएको र उपचारकै क्रममा राति साढे ९ बजे मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले जानकारी दिए।

त्यस्तै, जिल्लाको भंगहा नगरपालिका–५ स्थित सीतापुर खोरिया सडकखण्डमा आँधीहुरी आएकै बेला बाटोमा हिँडिरहेका पहिचान नखुलेका एक पुरुष सोही सडकखण्डमा रहेको बरको रुख ढल्दा च्यापिएर मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले जानकारी दिए।

नाम, थर, बतन नखुलेका धर्के टिशर्ट, रातो निलो हाप प्यान्ट र कालो प्लाष्टिकको जुत्ता लगाएको अन्दाजी ४०÷४५ वर्षीय पुरुषको वरको रुखमुनि च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.