|

चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी मिलेपछि चुनाव चिह्न के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका छन्।

प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिह्नका विषयमा छलफल जारी नै रहेको बताए।

मंगलबार बालुवाटारमा बसेको संयोजन समितिको बैठकपछि एकीकृत पार्टीको चुनाव चिह्न सूर्य हुने सहमति भएको समाचार आएपछि प्रचण्डको यो धारणा आएको हो।

दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उनले प्रष्ट पारे। प्रधानमन्त्री केपी शर्मा ओली र आफू आज कार्यक्रममा व्यस्त हुने भन्दै उनले भोलि दुई अध्यक्षका बीचमा बैठकपछि पार्टी एकता घोषणाको मिति तय हुने बताए।

उनले भने, “वैशाख ९ गते अल्ली भ्याइँदैन कि, कोसिस गर्दैछौँ।” त्यसो हुँदै गर्दा पनि वैशाख महिनाभर भने नलाग्ने उनको भनाइ छ। यकिन मिति दुई अध्यक्षले टुंग्याउने भए पनि पार्टी एकताका लागि धेरै दिन कुर्न नपर्ने उनले बताए।

दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोबाट गम्भीर ढंगले छलफल सुरु भएको भन्दै उनले कतिपय विषयमा कार्यदलले टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएको बताए।

उनले भने, “कतिपय भाषा परिमार्जन गर्नुपर्ने, कतिपय विषयमा कार्यदलले रिपोर्ट बुझाउँदैमा यो विषयमाथि टुंग्याउने भन्दै आफ्नो तहबाट अध्यक्षको तहमा ल्याएका छ । त्यस्ता विषय छलफल गरेर टुंग्याउने भनिएको छ।”

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा विधानमा जनयुद्धलाई कसरी प्रस्तुत गर्ने, जनआन्दोलनलाई के भन्ने, निर्वाचन चिह्नलाई कसरी मिलाउने, एकताको मोडालिटीमा केन्द्रीय समिति, प्रादेशिक समिति, जिल्ला समिति कसरी के आधारमा मिलाउने कुरामाथि नै छलफल होस् भनेर लिखित दिएको उनले बताए। यी विषयमा छलफल भइरहेको दाहालको भनाइ थियो।

अर्को एक प्रश्नमा दाहालले भने, “शक्ति बाँडफाँडका विषयमा कुरा नमिलेको होइन। तपाईहरू भ्रममा नपर्नुहोस्।” दुई पार्टीको बराबरी सिद्धान्तमा प्रतिनिधित्व गराउने जानकारी दिँदै उनले भने, “दुई अध्यक्षले नाम लिएर जाने, राम्रा मान्छेको राम्रो समिति बनाउने। त्यसो गर्दा सकेसम्म सम्मानजनक र बराबरीको सिद्धान्तमा गर्ने भन्ने कुरामा कुनै विमति छैन।” सञ्चार माध्यममा अनावश्यक हल्ला मात्रै आएको उनले बताए।

प्रधानमन्त्रीका कार्यशैलीका विषयमा छलफल भएको स्वीकार्दै उनले अधिकार प्रधानमन्त्रीलाई भए पनि सचिव सरुवालगायतका विषयमा विधि प्रक्रियामा समन्वय नभएको हो कि भनेर आफूले छलफल गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.