|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।

पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

“पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ, आर्थिक वर्ष २०७५-७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आर्थिक वर्ष २०७६-७७ सम्म सकिने छ”, मन्त्री अधिकारीले बताए।

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.