|

काठमाडौं : नयाँ वर्षको सुरुवातसँगै कारोबार भएको शेयर बजारमा यस साता नेप्से परिसूचकले उच्च अंकको वृद्धिदर कायम गरेको छ। चार दिन कारोबार हुँदा नेप्सेमा ८४ अंकले वृद्धि भएको छ। 

नेपाल स्टक एक्स्चेन्जका अनुसार पछिल्लो तीन दिन लगातार दोहोरो अंकको वृद्धिदर कायम भएको छ। बुधबार पनि ३२ अंकले वृद्धि भएपछि तीन दिनको अवधिमा मात्रै ८२ अंकको वृद्धिदर कायम भएको छ। 

पहिलो दिन २ अंकले वृद्धि भएको नेप्से दोस्रो दिन १७ अंकले, तेस्रो दिन ३३ अंकले र चौथो दिन बुधबार झण्डै ३२ अंकले वृद्धि भएको हो।

बुधबार शेयर बजार परिसूचक नेप्‍से अघिल्लो दिनको तुलनामा २.३९ प्रतिशतले वृद्धिदर कायम गरी ३१.८३ अंकले वृद्धि भई एक हजार ३६३ अंकमा पुगेको छ। 
सम्पूर्ण 'क' वर्गका कम्पनीहरूको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.२७ र सम्पूर्ण शेयरपत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स २.६३ अंकले उकालो लागेका छन्। 

यस दिन शेयर बजारमा सबैभन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंकअन्तर्गतका परिसूचक ३२.८९ अंकले उकालो लागेका छन्। त्यस्तै, सबैभन्दा बढी जलविद्युतअन्तर्गतका उपसूचक १०७.७३ र विकास बैंकअन्तर्गतका परिसूचक ६५.३४ अंकले उकालो लागेका छन्। 

अंक मात्रै होइन, कारोबार रकम पनि निकै बढेको छ। चैत १० अघिसम्म औसत ४० करोड रुपैयाँको कारोबार हुने गरेकामा बुधबार मात्रै एक अर्ब १२ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन १६५ कम्पनीका २४ लाख ४० हजार १०५ कित्ता शेयरपत्र किनबेच भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.