|

काठमाडौं : दुई तिहाई बहुमत सहितको सरकाले समृद्ध नेपाल अभियान अन्तर्गत लगातार दोहोरो अंकको आर्थिक वृद्धि हुनेगरीका योजना अघि बढाउने बताएको छ। यद्यपी चालु आर्थिक वर्षमा बजेटमा राखिएको लक्ष्य संसोधन गरेर ६.२ प्रतिशतको आर्थिक वृद्धि हुने बताएको छ। 

बहुराष्ट्रिय दातृ निकाय विश्‍व बैंक र एसियाली विकास बैंकले क्रमश ४.६ र ४.९ प्रतिशतको आर्थिक वृद्धिको संशोधित प्रक्षेपण गरेका छन्। गत आर्थिक वर्षमा दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा बढी आर्थिक वृद्धि कायम गरेको नेपाल चालु आर्थिक वर्षमा भने दक्षिण एसियाकै सबैभन्दा कम आर्थिक वृद्धि कायम हुने प्रक्षेपण गरेको छ। 

विश्‍व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार लगातार तीन वर्ष नेपालको आर्थिक वृद्धिदर घट्दो रहने छ। बैंकका अर्थशास्त्री सुदम्यन दाहालले यो वर्ष नेपालको आर्थिक वृद्धिदर खुम्चिएर ४.६, आगामी वर्ष ४.५ र अर्को वर्ष ४.२ प्रतिशत हुने प्रक्षेपण गरेको बताए। त्यस्तै आगामी केही वर्ष नै आर्थिक वृद्धिदर पाँच प्रतिशत तल रहने विश्‍व बैंकले जनाएको छ। 

नयाँ संघीय प्रणालीले आगामी दिनमा थप वित्तीय दायित्व सिर्जना भई खर्चको दवाव बढ्ने भन्दै खर्च कटौती गर्न सरकारलाई सुझाएको छ। दायित्व बढ्दै गएर बजेट घाटा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५.९ प्रतिशत पुगेको बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बैंकले खर्च व्यवस्थापन गर्न अनावश्यक खर्च कटौती, पेन्सन प्रणालीमा सुधार र सामाजिक सुरक्षा खर्च व्यवस्थापन गर्न सुझाएको छ। पेन्सन र सामाजिक सुरक्षा खर्च वर्षेनी बढ्दै गएर थप दायित्व सिर्जना गरेको उल्लेख गर्दै यसलाई व्यवस्थापन गर्न सुझाएको हो।

बैंकका वरिष्ठ अर्थशास्त्री ड्यामिर कसिकले पछिल्ला तीन वर्षयताका बजेट वास्तविक धरातलबाट बाहिर गएर तर्जुमा गरिएको बताउँदै यसले गर्दा वित्तीय क्षेत्रमा केही संकट आएको बताए। यसरी बजेट ल्याउँदा बैंकिङ प्रणालीमा तरलताको अवस्था कमजोर र ब्याजदर बढाउन सहयोग पुर्‍याएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.