|

धनकुटा : आधारभूत तहका बालबालिकाको पठन सीप विकास गर्न सामुदायिक विद्यालयमा पुस्तक वितरण कार्य सुरु भएको छ। मंगलबादेखि धनकुटाका २९६ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूको पठन सीप विकास गर्न पुस्तक वितरण सुरु गरिएको जिल्ला शिक्षा कार्यालय धनकुटाले जनाएको छ। 

आरटिआई संस्थाले अमेरिकी जनताको सहयोगमा कक्षा १, २ र ३ कक्षाका विद्यार्थीहरूका लागि उपलब्ध गराइएका पुस्तक नेपालमा सामा प्रेसमार्फत् वितरण सुरु गरिएको हो। जिल्ला शिक्षा कार्यालय धनकुटाको सहकार्यमा यहाँ हरेक विद्यालयमा पुस्तक वितरण गर्न लागिएको आरटिआई धनकुटा संयोजक योगेन्द्र चापागाईंले बताए। विद्यार्थी संख्याको आधारमा विभिन्न १५१ शीर्षकका ५०० बढी पुस्तक वितरण गरिने उनको भनाइ छ। 

पञ्चवर्षीय योजनाअन्तर्गतको यो कार्यक्रम दुई वर्षअघि नेपालका १६ जिल्लामा संचालन गरिएको थियो। अब उक्त कार्यक्रमलाई पूर्वका सप्तरी र धनकुटा जिल्लाका विद्यालयमा लैजाने योजना बनाएको जिल्ला शिक्षा समन्वय अधिकारी रामबहादुर थापाले बताए।

नेपाली पठन सीप विकासका लागि आकर्षक चित्रसहितका पाठ्य सामग्री एवं अभ्यासपुस्तिका रहेकाले बालबालिकामा अभिरुचि जगाएर सामुदायिक विद्यालयको अध्ययन/अध्यापनमा सहज बन्ने थापा बताउँछन्। उनले भने, ‘यो पुस्तक पाएपछि सामुदायिक विद्यालयप्रति विद्यार्थीहरूको आकर्षण बढ्ने अपेक्षा गरेका छौँ।’

दोस्रो चरणमा रहेको यो पुस्तक वितरण कार्यक्रम दुई महिनाभित्रमा सकिने सामा प्रेस धनकुटाका संयोजक खगेन्द्रप्रसाद घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.