|

काभ्रेपलाञ्चोक : संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्यालय भर्ना अभियानका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका- १२ बालुवाका रिजन दनुवारलाई विद्यालय भर्ना गरेका छन्। बुधबार बालुवास्थित श्री आजाद माध्यमिक विद्यालयमा पुगेर उनले कक्षा १ मा भर्ना गरी अभिभावकत्व ग्रहण गरेका हुन्।

राज्यमन्त्री बाँस्कोटाले आदिवासी जनजातिअन्तर्गत अतिसीमान्तकृत समूहका दनुवार वस्तीका राजकुमार दनुवारको छोरा ६ वर्षका रिजनलाई कक्षा १ मा भर्ना गरेको हो। उक्त अवसरमा बोल्दै उनले आम सचेत नागरिकलाई पनि सामाजिक उत्तरदायित्व पूरा गर्न आग्रह गरे। उनले शिक्षाले नै सभ्यता, ज्ञान, बुद्धि, क्षमता र जीवन बाँच्ने कलाका साथै अरूलाई सहयोग गर्ने बुद्धि सिकाउने भएकाले यसैमा सबै चिज प्राप्त हुने उल्लेख गरे।

‘छेउमा नै झुपडीहरू राखेर नजिकै बनाइएको सिसाको महल कहिल्यै पनि सुरक्षित हुँदैन, त्यसैले सक्नेहरू प्रधानमन्त्री, मन्त्रीहरूले मात्रै होइन, देश निर्माणका निम्ति सबैको सहयोग र भोलिको सक्षम नागरिक निर्माणका निम्ति सबैले योगदान गर्नुपर्छ।’ उनले भने, ‘त्यसका लागि आह्वान गरिएको अभियान संचालन गर्ने शिलशिलामा मैले पनि यो विद्यालय रोजेँ र सानो बाबु, जसको बारेमा हरेक दिन फोनमा सम्पर्क गर्नेछु। विद्यालय आउने नआउने अभिभावकहरूसँग सम्पर्क गर्नेछु।’

उनले भर्ना यस वर्षलाई मात्रै नभई भर्ना भएका नानीबाबुको आधारभूत तह (कक्षा १० सम्म)को जिम्मा आफ्नो भएको समेत बताए। हरेक वर्ष नानीबाबुलाई शुल्क र किताबबाहेक आवश्यक पर्ने बाँकी सबै चिज आफूले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

उक्त अवसरमा बोल्दै उनले अझै पनि देशमा हजारौँ विद्यार्थीहरू विद्यालय भर्ना हुनबाट वञ्चित रहेको र उनीहरूको आर्थिक अवस्था कमजोर हुनुका साथै चेनताको पनि अभाव भएकाले नागरिकद्वारा नागरिकको उत्तरदायित्व निर्वाह गर्नका लागि सबैमा आग्रह गरे। उनले आम नागरिकलाई हामी गरिब छौँ, विकास गर्न सक्दैन भन्ने चिन्तनबाट मुक्त भई गरिबहरूले नै विकास गर्ने बेला भएको बताए। विकासको कुरामा साझा मान्छेहरूले सबै कुरालाई साझा रूपमा लिएर समाज र राष्ट्रलाई समृद्ध र सुखी एवं स्वाभिमान उच्च बनाउनका निमित्त सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए।

उक्त क्रममा बोल्दै नगर प्रमुख महेश खरेलले नगरले बनाउने शिक्षा नीति कुनै व्यक्ति र राजनीतिक दल विशेषको नभई आम नागरिकको हुने गरी बनाउने बताए।

सोही क्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललगायत छ जनाले त्यहाँका आर्थिक अवस्था कमजोर भएका अभिभावकका बालबालिकाहरूलाई विद्यालय भर्ना गरेका छन्। भर्ना हुनेहरूमा नगरका प्रमुख खरेलले उत्तम दनुवारका छोरा गुञ्जन दनुवार, जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले रवि दनुवारकी छोरी सविना दनुवार, समाजसेवी नारायण अधिकारीले श्याम श्रेष्ठका छोरा सन्तोष श्रेष्ठ, प्राचार्य मदन लुइँटेलले भीमबहादुर मानन्धरकी छोरी पूर्णिमा मानन्धर र पत्रकार दीपक समीरले कृष्ण दनुवारकी छोरी सरला दनुवारलाई आजै सोही विद्यालयमा कक्षा १ मा भर्ना गरी अभिभावकत्व ग्रहण गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक प्रह्लादप्रसाद तिमल्सिनाले राज्यमन्त्री, शिक्षा अधिकारी, नगरका प्रमुख तथा समाजसेवी व्यक्तित्वहरूको अभिभावकत्व पाएका कारण विद्यालय अझ मजबुद भएको महसुस गरेको बताए।

विद्यालयमा ९४० जना विद्यार्थीहरू अध्ययनरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.