डा. भोजराजसहित १२ जनालाई सम्मान

|

चितवन : पूर्वी चितवनको कालिका नगरपालिका- ६ खोलेसिमलमा रहेको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको गृहमन्त्री रामबहादुर थापाले भवन उद्घाटन गरेका छन्।

केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा केन्द्र स्थापनामा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै गृहमन्त्री रामबहादुर थापाले कालिका नगर भर्खरै मात्र स्थापना भएको नगरपालिका भएकाले यसको भौतिक एवम् अन्य विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए। यस क्षेत्रकै महत्त्वपूर्ण अस्पतालको रूपमा विकास हुँदै गएको केन्द्रलाई स्तरोन्नतिका लागि आफ्नो तर्फबाट पहल गरिनेसमेत उनले बताए।

यस क्षेत्रमा स्वास्थ्यका अतिरिक्त खानेपानी, सडकलगायतका हरेक समस्याहरू रहेकाले यसको क्रमशः हल गरिनेसमेत उनको भनाइ थियो। यस नगर क्षेत्रमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र छिटोभन्दा छिटो निर्माण गर्न आफू र सरकार प्रतिवद्ध रहेको भन्दै गृहमन्त्री थापाले यस नगरपालिकाको क्षेत्रमा इलाका प्रहरी कार्यालय स्थापना गर्न आफूले सकारात्मक ढंगले काम अगाडि बढाएको समेत बताए। कालिका नगरको विकासका लागि सधैँ आफू लागिपर्नेसमेत उनले प्रतिवद्धता व्यक्त गरेका थिए। 

गृहमन्त्री थापाले आजै खैरहनी नगरपालिकामा संचालित क्रिकेट खेलको उद्घाटन गरेका थिए भने शक्तिखोरस्थित चर्तुमुखी माविमा विद्यार्थी भर्ना अभियानमा सरिक भई विद्यार्थीको भर्नासमेत गराएका थिए। त्यस्तै, उनले जुटपानी प्रहरी चौकीको भवन शिलान्यास र पदमपुरमा नेकपा एमाले र माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरूलाई भेटघाटसमेत गरेका थिए। 

जुटपानी प्राथमिक स्वास्थ्य केन्द्र भवन उद्घाटन तथा सम्मान कार्यक्रममा केन्द्रका संचालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष होमबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने समितिका अध्यक्ष विनोद रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा प्रदेशसभाका सांसद घनश्याम दाहाल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, केन्द्रका कार्यालय प्रमुख डा. श्रीनारायण यादव, सम्मानित व्यक्तित्वहरूको तर्फबाट डा. भोजराज अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए। 

केन्द्रलाई सहयोग गर्ने व्यक्तिहरू सम्मानित

स्वास्थ्य केन्द्रको स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री रामबहादुर थापाले उक्त कार्यक्रममा सम्मान गरेका थिए। सम्मानितहरूलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो। 

सम्मानित हुनेहरूमा केन्द्रका पूर्व कार्यालय प्रमुख एवम् वरिष्ठ फिजिसियन तथा कन्सल्टेन्ट डा. भोजराज अधिकारी, पूर्व प्रमुख डा. विश्वबन्धु बगाले, पूर्व प्रमुख डा. सुनिल पन्त थिए भने मरणोपरान्त डा. हरिनाथ आचार्यलाई सम्मान गरिएको थियो। 

त्यस्तै, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू शीतलकाजी श्रेष्ठ र शिव पौडेल, केन्द्रलाई भौतिक सामान सहयोग गर्ने मुनलाइट इंगलिस बोर्डिङ स्कुलका निर्देशक चित्रबहादुर रायमाझी, स्थानीय होमबहादुर थापा, लक्ष्मीनारायण चौँलागाईं, ध्रुव रायमाझी, पूर्णबहादुर वाइवा, सुभद्रा दाहाल, खेमलाल अधिकारी, कृष्णप्रसाद दाहाल, तेजप्रसाद लामिछाने, विनोद रेग्मी पनि सम्मानित भएका थिए। उनीहरूले केन्द्रको स्थापनामा महत्त्वपूर्ण भूमिका निभाएका थिए। 

यस्तो छ प्राथमिक केन्द्रको भौतिक तथा अन्य अवस्था

स्वास्थ्य केन्द्रको गत दुई वर्ष अगाडि भवन निर्माण सम्पन्न भई नयाँ भवनबाट हालको कालिका- २ खोलेसिमलमा स्वास्थ्य सेवा संचालन भइरहेको छ। १० कठ्ठा क्षेत्रफलमा रहेको केन्द्रमा एक जनाको दरबन्दी र पाँच जना चिकित्सकसहित १९ जना स्वास्थ्यकर्मीहरूको टोलीले स्थानीयहरूलाई स्वास्थ्य सेवा दिँदै आएको छ। 

स्वास्थ्य बीमाका अतिरिक्त अन्य औषधि र सुविधासहितको फार्मेसी सेवा, २४ घण्टे आकस्मिक सेवा र प्रसुति सेवासहितका सेवाहरू अस्पतालले उपलब्ध गराएको छ। विभिन्न खोप सेवा, विभिन्न रोगको परीक्षण गर्ने प्रयोगशाला सुविधा, इसिजी सेवा र हरेक हप्ता पाठेघरको मुखको क्यान्सर परीक्षण गरी उपचार सेवासमेत यसै केन्द्रबाट उपलब्ध गराइएको केन्द्रका डा. श्रीनारायण यादवले जानकारी दिए। 

१५ शैयाको स्वास्थ्य केन्द्रबाट हाल कालिका नगरपालिकाका अतिरिक्त रत्ननगर र इच्छाकामनाका स्थानीयवासीहरूले समेत स्वास्थ्य सेवा लिँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.