|

बुटवल : रूपन्देहीको बुटवल उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि २६ वटा कानुन बनाएको छ।उपमहानगरपालिका नगर कार्यपालिकाले चैत मसान्तसम्म २६ वटा कानुन बनाएर राजपत्रमा प्रकाशित गरेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार नगर कार्यपालिकाले ९ ऐन, २ नियमावली, ८ कार्यविधि, २ निर्देशिका, २ आचारसंहिता, २ मापदण्ड र एउटा नीति बनाएको हो। नगर कार्यपालिकाले कार्यसम्पादन नियमावली, बैठक सञ्चालन कार्यविधि, नगरसभा सञ्चालन कार्यविधि, निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली, कर्मचारी आचारसंहिता बनाएको हो।

यस्तै, गरी उपमहानगरका पदाधिकारीको आचारसंहिता, आर्थिक ऐन, विनियोजन ऐन, भवन निर्माण तथा भू–उपयोग मापदण्ड, योजना तथा कार्यक्रम कार्यान्वयन कार्यविधि, प्रशासकीय कार्यविधि ऐन, नगर शिक्षा ऐन, नगर सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, फोहोरमैला व्यवस्थापन ऐन, निर्माण व्यवसाय ऐन, सार्वजनिक निजी साझेदारी नीति, न्यायिक कार्यविधि लगायतका कानुन नगर कार्यपालिकाले बनाएर राजपत्रमा प्रकाशित गरेको छ।

नगर कार्यपालिकाले बनाएका कानुनहरुको पुस्तिका बुधबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरिएको छ। कानुन पुस्तिका हस्तान्तरण गर्दै नगर प्रमुख शिवराज सुवेदीले मन्त्रिपरिषद्बाट आवश्यक निर्णयहरु गरिदिन अनुरोध गरेका थिए। उनले नगरले बनाएका कानुनहरु नबाझिने गरी बनाएको र सोही अनुसार प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी काम गर्ने बताए।

नगरको कानुन ग्रहण गर्दै मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय सरकार र प्रदेश सरकारबीचमा समन्वय र सहकार्यबाट मात्रै मुलुक समृद्ध हुनसक्ने बताए। उनले साझा अधिकारबारेमा निर्णय गर्ने अधिकार संघीय सरकारलाई रहेको भन्दै तीन तहकै सरकारबीच साझा भावना स्थापित भएमा मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.