भक्तपुर : नौ दिन आठ रात मनाइने साँस्कृतिक तथा ऐतिहासिक बिस्केट जात्रा सम्पन्न भएको छ। बुधबार साँझ गःहिटीबाट भैरवनाथको रथ तानेर तल्लो टोलको बुलुँचा र माथिल्लो टोलको सुकुलढोकासम्म पुर्याएर पुनः टौमढी स्थित पाँचतल्ले मन्दिर प्राङ्गणमा पुर्याई जात्रा टुंग्याइएको हो।
यसअघि रथलाई तल्लो टोलमा गःहिटीबाट बुँलुचा, बोलाछें, नासमना, टेखापुखु र माथिल्लो टोलको सुकुलढोका, गोलमढी, दत्तात्रेयसम्म लैजाने परम्परा रहे पनि जात्राको मार्ग छोट्याएर तल्लो टोलमा नासमना र माथिल्लो टोलमा सुकुलढोकासम्म मात्र लगिएको गुठी संस्थान कार्यालय भक्तपुरले जनाएको छ। २०७२ सालको भूकम्पले रथ तान्ने मार्गका घरहरूमा क्षति पुगेकाले रथयात्रा छोटो बनाइएको हो।
यसअघि बुधबार बिहान तालाक्वस्थित कुमाले टोलमा गत चैत्र ३० गते बिहान उठाएको ज्याथा गणेशको प्रतीक हात नभएको लिंगो ढालिएको थियो। सो लिंगो नढालेसम्म भैरवनाथको रथ तान्न नहुने परम्परा छ।
मल्लकालमा राजाको विरोधस्वरूप कुमालेटोलका प्रजापतिहरूले जात्राको चौथो दिन बिहानै ज्याथा गणेशको प्रतीक हात नभएको लिंगो उठाएको इतिहासमा उल्लेख भएको प्रजापति समाजका अध्यक्ष रामबहादुर प्रजापतिले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।