|

धनकुटा : धनकुटा नगरपालिका– ९ मूलघाटनजिक बुधबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मूलघाटबाट धनकुटा आउँदै गरेको को २ त ३११५ नम्बरको ट्रयाक्टर ब्रेक फेल भई दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटा नगरपालिका–९ माहाङका १८ वर्षीय सरोज भण्डारीलाई उपचारार्थ जिल्ला अस्पताल धनकुटा लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका धनकुटा नगरपालिका–९ माहाङकै पवन भण्डारीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान धरान पठाइएको छ। 

ट्रयाक्टर चालक धनकुटा–९ का गोविन्द भण्डारी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। ट्रयाक्टर सडकबाट करिब ४० मिटर तल खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.