|

चितावन : चितवनको रत्ननगर स्थित सौराहामा जर्मनी नागरिकको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ।

विदेशी दाताहरूको १ करोड ९३ लाख रुपैयाँको लागतमा माउण्ट भ्यू ईग्लिस स्कुलको भवन निर्माण भएको सोसाईटीका उपाध्यक्ष शेरबहादुर परियारले जानकारी दिए। उक्त विद्यालय हरियाली समाज (ग्रिन सोसाईटी) नेपालद्वारा सञ्चालित छ। 

सौराहाको पर्यटकीय क्षेत्रमा सुविधायुक्त र अन्तर्राष्ट्रिय स्तरको स्कुल बन्न नसक्नु विडम्बना भएको बताउँदै परियारले ठूलो मेहनतका साथ विदेशी दाता गुहारेर समाजका लागि विद्यालय निर्माण गरेको उल्लेख गरे।

 यो स्कुललाई नाफाका दृष्टिले नहेरी आएको आम्दानीले नजिक रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासमा लगानी गर्ने योजना रहेको स्कुलले जनाएको छ। ग्रिन सोसाईटी नेपालले यहाँ आँखा उपचार केन्द्र, प्रशिक्षण भवन, पुस्तकालय लगायत विभिन्न सामाजिक क्षेत्रमा समेत लगानी गरेको छ।

आज उक्त विद्यालय भवनको उद्घाटन तथा नयाँ व्यवस्थापन कार्यक्रमको शुभारम्भ गर्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले शैक्षिक विकासका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने बताए। 

सहयोगी दाताहरूकोतर्फबाट मन्तव्य राख्नुहुँदै  जर्मनी नागरिक, नेवार थारु ई.भी.का अध्यक्ष कारा गेरनोटले म पढुनुपर्छ, आफैं मेहनत गर्नुपर्छ, बाबु आमाले मेहनत गरेर हुन्न भन्ने भावनाका साथ पठनपाठनमा लाग्न विद्यार्थीहरूलाई आग्रह गरे।

 कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा हाल २ सय ४० विद्यार्थीहरू छन्। आगामी वर्ष कक्षा ९ सञ्चालन गर्ने योजना रहेको र पाँच वर्षभित्र नमूना स्कुल बनाउने योजना रहेको प्रधानाध्यापक गोपीकुमारी रिजालले बताइन्।

हाल स्कुलमा कप्युटर प्रयोगात्मक शिक्षा, संगित र नृत्य कक्षा, अडियो भिडियो कक्षा सञ्चालन हुँदै आएको छ। निकट भविष्यमै प्रोजेक्टरबाट कक्षा सञ्चालन गर्नका लागि एक शिक्षक एक ल्यापटप अवधारणा अघि बढाइएको छ। हरियाली समाज नेपालका पूर्व अध्यक्ष बासु ढुंगानाले  स्कुलले नमूना काम गरेर शुरुआत गरेको बताउँदै अझै धेरै गर्न बाँकी रहेको प्रतिक्रिया दिए। 

कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल ३२५ ए २ नेपालका पूर्व डिष्ट्रिक गभर्नर सेकेण्ड सेन्च्युरी एम्व्याष्डर शम्भुप्रसाद घिमिरेले लाईनिजमको उद्देश्यबाट सञ्चालनमा आएको विद्यालयले असल नागरिक उत्पादन गर्न सहयोगी भूमिका खेल्ने बताए। 

आजको उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्टका सदस्य दीपक महत, रत्ननगरका वडाध्यक्ष लालबहादुर भट्ट, नगर शिक्षा अधिकारी राजेन्द्र बराल, अभिभावक शिव भूषाल, शिरलाल परियार, विद्यार्थी प्रकृति अर्याल लगायतले मन्तव्य राखेका थिए। 

कार्यक्रम हरियाली समाज नेपालका अध्यक्ष गिरीधारी चौधरीको अध्यक्षतामा भएको थियो । सो क्रममा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.