|

उदयपुर : उदयपुरका सार्वजनिक स्थलमा कार्यक्रम गर्न नपाइने भएको छ। जथाभावी गरिने कार्यक्रमले नगर र बजार क्षेत्रको सौन्दर्य कुरूप बन्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुर कार्यक्रम स्थल तोकेर रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जथाभावी आयोजना गरिने आमसभा र विरोधसभाले सवारी आवागमन अस्तव्यस्त हुनुका साथै सर्वसाधरणको दैनिकीमा समेत प्रत्यक्ष असर पुगेकाले रोक लगाएको बताए। ‘हामीले त्रियुगा नगरपालिका क्षेत्रभित्र एक ठाउँ र कटारी नगरपालिकामा एक ठाउँ तोकेका छौँ’, कार्कीले भने, ‘जिल्ला सुरक्षा समितिले पूर्ण रूपमा रोक लगाएको छ।’

त्रियुगा नगरपालिका क्षेत्रमा वडा नम्बर- ११ स्थित पीपलचोकदेखि दक्षिण मेनचोकभन्दा २० मिटर उत्तरतर्फको भागमा यातायात संचालनमा बाधा नपुग्ने गरी र त्रियुगा नगरपालिका- १३ स्थित थरूहट रंगशालामा कार्यक्रम गर्न पाउने गरी व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए। 

यसैगरी जिल्लाको पश्चिमी व्यापारिक केन्द्र कटारी नगरपालिकास्थित टाइगर फिल्ड कटारीमा कार्यक्रम संचालन गर्ने गरी व्यवस्था मिलाइएको उनले बताए। उनले भने, ‘शान्तिपूर्ण कार्यक्रम गर्न सबैलाई छुट छ तर जथाभावी गरिने कार्यक्रमले नगर त कुरूप बन्छ नै, यससँगै स्थानीयलाई समेत त्यसको प्रत्यक्ष असर पर्ने, यातायातका साधन ठप्प गर्नुपर्ने भएकाले व्यवस्थित गर्न यसो गरेका हौँ।’

तोकिएको स्थानमा नै कार्यक्रम संचालन गर्न आग्रह गर्दै प्रजिअ कार्कीले यसलाई नियमित अनुगमन गरी व्यवस्थित गरिने बताए। यसअघि सार्वजनिक महत्त्वका ठाउँमा कार्यक्रम संचालन गरिँदा सर्वसाधरणको दैनिकीमा समस्या परको भन्दै अधिवक्ता श्यामानन्द चौधरीले अदालतमा रिट दायर गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.