|

ओखलढुंगा : ओखलढुंगासहित विभिन्न जिल्लामा शृंखलावद्ध चोरीका घटनामा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ओखढुंगा, खोटाङ र सोलुखुम्बुका स्थानीयहरूको नगदसहित गरगहना चोरी गर्ने खोटाङका अनिल भनिने अजय श्रेष्ठ पोखरामा पक्राउ परेका हुन् । 

ओखलढुंगामा चोरी भएको एक महिना बित्दा पनि चोरी गर्नेलाई पक्रउ गर्न नसकेको आरोप खेपिरहेको अवस्थामा प्रहरीले कास्की प्रहरीको सहयोगमा श्रेष्ठलाई पोखराबाट पक्राउ गर्न सफल भएको हो। चोरीको आरोपमा खोटाङको जलपा निवासी २२ वर्षीय श्रेष्ठलाई ओखलढुंगा प्रहरीको निगरानीमा कास्की प्रहरीको सहयोगमा पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। 

गत चैत ५ गते सोमबार ओखलढुंगाको सदरमुकामस्थित एक व्यापारीको फलफूल पसलबाट श्रेष्ठले नगद दुई लाख ११ हजार रुपैयाँसहित दुई तोला आठ आना सुन चोरी गरी फरार भएका थिए। फलफूलका साथै किराना पसल संचालन गर्दै आएका कपिल कटुवालको पसलबाट मध्यरात ढोकामा लगाएको ताल्चा फुटाएर नगदसहित गरगहना चोरी भएको थियो। 

त्यस्तै, सोलुखुम्बु जिल्ला सदरमुकाम गई स्थानीय व्यापरीहरूका चारवटा पसलबाट नगदसहित विभिन्न सामानहरू चोरी गरी श्रेष्ठ फरार भएको प्रहरीले जनाएको छ। ‘चोरी गरेरै एक पटक जेल परिसकेको रहेछ, पछि छुटेपछि पनि ओखलढुंगा, सोलुखुम्बु हुँदै चोरी गर्दै पोखरा पुगेको पाएपछि निगरानी गरेर पक्राउ गरियो', जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक कार्कीले बताए। 

श्रेष्ठ यसअघि पनि खोटाङका एक स्थानीयको नगद एक लाख रुपैयाँ चोरी गरेको आरोपमा १५ महिना जेल जीवन बिताएर रिहा भएका हुन्। उनलाई यसअघिको गतिविधि र लोकेसन ट्र्याक गरी पोखराबाट पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ। ‘यसअघि जेलबाट चोरीको मुद्दामा को रिहा भएको थियो, त्यसलाई हेर्‍यौँ र त्यसको लोकेसन ट्र्याक गरी पिछा गर्दै जाँदा पोखरामा फेला पारियो’, कार्कीले भने।

श्रेष्ठलाई अब चोरी मुद्दाका लागि सोलुखुम्बु पठाउने र त्यहाँबाट पुनः ओखलढुंगा ल्याएर मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय अोखलढुंगाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.