|

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। 

स्थानीय तहमा अपुग कर्मचारी पठाउन मन्त्रालयले सबै स्थानीय तहलाई निजामती कर्मचारी र साविक स्थानीय निकायका कर्मचारीको रिक्त कर्मचारी र पदपूर्ति विवरण उपलब्ध गराउन निर्देशन दिँदै बिहीबार पत्र पठाएको मन्त्रालय, कर्मचारी प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाका शाखा अधिकृत रुद्रलाल भुसालले जानकारी दिए। 

मन्त्रालयले मन्त्रिपरिषद्को गत चैत १४ गतेको बैठकले स्थानीय तहको आन्तरिक संगठन संरचना तथा कर्मचारीको दरबन्दी स्वीकृत गरेपछि कर्मचारी पठाउन तयारी गरेको हो। सरकारले करिब ५७ हजार ३३४ कर्मचारीको दरबन्दी स्थानीय तहका लागि स्वीकृत गरेको छ। मन्त्रालयले यसअघि पनि पटक पटक स्थानीय तहलाई विवरण पठाउन भने तापनि अटेर गरेपछि अहिले तीन दिनभित्रको समयसीमा तोकेर कर्मचारी पठाउन पत्र पठाएको शाखा अधिकृत भुसालले बताए। 

मन्त्रालयले जिल्ला समन्वय समितिसँग समन्वय गरेर मागअनुसारको विवरण पठाउन भनेको छ। शाखा अधिकृत भुसालले विवरण आइसकेपछि यकिन गरेर चाँडै स्थानीय तहमा अपुग कर्मचारी पठाइने बताए। यसअघि सरकारले स्थानीय तहमा कर्मचारी आवश्यक हुने भन्दै विभिन्न मन्त्रालयसँग कर्मचारी माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.