|

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार बसेको विशेष साधारणसभाले संशोधित विधान पारित गरेको छ।

साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निर्देशनानुसार संशोधित विधान जस्ताकोत्यस्तै पारित गरेको हो। सभामा आइसिसीका प्रतिनिधि अमर शेखको पनि उपस्थिति थियो।

आइसिसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई पारित गरेपछि अब क्यानको निलम्वन फुकुवा हुने सम्भावना बढेको बताइएको छ।

संशोधित विधानमा पुरानो कार्यसमितिका १७ र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सात जनाले मताधिकार र उम्मेदवार बन्न तल्लो तहदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघिको विधानमा उनीहरूले निःर्शत भोट हाल्न र उम्मेदवार हुन पाउने व्यवस्था थियो।

अब क्यानको निर्वाचन गराउनका लागि अनुगमन समिति गठन हुनेछ। सो समितिले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ। समितिमा आइसिसीबाट तीन, राखेप र निर्वाचित क्यानबाट एक÷एक प्रतिनिधि सदस्य रहनेछन्।

विधान पारितभएसँगै नेपाली क्रिकेटको विकास, विस्तारमा सहयोग पुग्ने तथा क्यानको निलम्वन पनि पुकुवा हुने सम्भावना बढेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

विधान पारित गरे नेपाल क्रिकेट संघमाथि गरिएको निलम्वन फुकुवा गर्ने आइसिसीले यसअघि नै जनाइसकेको छ।

विसं २०७२ मंसिरमा चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएका थिए। क्यानका तत्कालीन अध्यक्ष टंक आङ्बुहाङ समूहले उक्त अधिवेशन रोक्न राष्ट्रिय खेलकुद परिषद्मा उजुरी गरेको थियो। राखेपले निष्पक्ष र वैधानिक तरिकाले निर्वाचन नभएको भन्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ समितिसमेत गठन गरेको थियो।

निष्पक्ष निर्वाचन नभएको र सरकारी हस्तक्षेप रहेको भन्दै आइसिसीले विसं २०७३ वैशाखमा क्यानलाई निलम्वन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.