|

चितवन : चितवन राष्ट्रिय निकुञ्जको जर्नेली पोष्टमा शुक्रबार एकै ठाउँमा सात गैँडा भेटिए।

वन्यजन्तु सप्ताहको अवसरमा आज जनप्रतिनिधि तथा संरक्षणकर्मीहरूको जीप सफारीका क्रममा सौराहाबाट निकुञ्जको मूख्य कार्यालय कसरासम्म पुग्दा विभिन्न स्थानमा गरेर १० गैँडा देखा परे। गैँडा घाँसे मैदानमा मस्त चर्दै थिए।

विरलै मात्र देखिने यस्तो अवसर आज जुरेको वरिष्ठ चराविज्ञ टिका गिरीले बताए। बाघ, गैँडा लगायत वन्यजन्तु अवलोकनका लागि निकुञ्जको जीप सफारी उत्कृष्ट अवसर भएको उनले सुनाए।

यस्तै उत्कृष्ट अवसर जनप्रतिनिधि, पार्टी प्रतिनिधि, पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा पत्रकारहरूले पाएका हुन्। निकुञ्जको लामिताल नजिकै दुर्लभ पाटेबाघ हेर्ने अवसर समेत आजै मिलेको थियो। सोही ठाउँ नजिकै प्वांख फिजारेर नाचिरहेको मयूरको सुन्दर दृष्यले जनप्रतिनिधि तथा अन्य दंग भए।

'बाघ लस्किदै गरेको देखियो', रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले भने, 'आजको जीप सफारी निकै उपलब्धिमुलक रह्यो।’ मयुरको नृत्यले अझै निकुञ्ज यात्रा सुन्दर बनाएको वनले बताए। यात्रामा प्रदेश सभा सदस्य कृष्ण भुर्तेल समेत सहभागि थिए।

जंगलमा भालु, चित्तल, विभिन्न प्रजातिका चरा, बँदेल देखेर जीप सफारीका सहभागिहरू खुसी भए। सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटिय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिने अवसर जीप सफारीमा मिल्छ। त्यसैले सफारी यात्रा सबैका लागि महत्वपूर्ण हुन्छ भन्छन् पर्यटन व्यवसायी तथा संरक्षणकर्मी राममणि खनाल।

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकका लागि सुरक्षित र धेरै प्रजातिका वन्यजन्तु देखिने जीप सफारी हो। आजको वन्यजन्तु अवलोकनले पनि प्रमाणित गर्ने बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङ बताउछन्।

चरा विज्ञ वासु विडारी सौराहा घुम्न आउने पर्यटकहरू जीप सफारीमा खुसी हुने बताउछन्। पर्यटकले सहजै गैँडा हेर्न पाउने भएकाले पनि सफारी महत्वपूर्ण हुँदै आएको छ।

मृगकुञ्ज उपभोक्ता समिति सौराहाको संयोजनमा यहाँका विभिन्न संघ संस्थाको सहभागितामा आज वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्ज जीप सफारी आयोजना गरिएको हो।

मुख्यगरी जनप्रतिनिधिहरूलाई संरक्षणबारे जानकारी दिन यसरी जीप सफारी गरिएको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढंगाना बताउछन्। जीप सफारीपछि चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा संरक्षण अन्तरक्रिया समेत भएको थियो।

अन्तरक्रियामा बोल्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले समुदायसँग मिलेर संरक्षणकार्य अघि बढाएकाले निकुञ्जले ठुलो उपलव्धी प्राप्त गरेको भन्दै यो अभियानलार्इ अझै चुस्त पारेर लैजानुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.