|

सुर्खेत : वीरेन्द्रनगर सुर्खेतको गंगामाला देउती बज्यै मन्दिरको पूर्वाधार निर्माण हुने भएको छ। कर्णाली प्रदेशकै मुख्य धार्मिक पर्यटकीयस्थल देउती बज्यै मन्दिर क्षेत्रकाे पूर्वाधार निर्माण गर्न लागिएको हो। 

वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा देउती बज्यै मन्दिरको भौतिक पूर्वाधार विकासमा सहयाेग गर्न जनस्तरबाटै देउती बज्यै पूर्वाधार विकास समिति गठन गरी पाँच वर्षे गुरुयोजना निर्माण गरेरै काम सुरु गरेकाे हाे। ‘देउती बज्यै मन्दिरको गुरुयोजना प्राविधिक सहयोगमा निर्माण गरेका छौँ। त्यहीअनुसार काम पनि सुरुवात भएको छ’, देउती बज्यै पूर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए।

संयोजक गिरीले भने, ‘मन्दिरमा आवश्यक पर्ने पूर्वाधार निर्माणको काममा सबैको सहयोगको अपेक्षा राखेकाे छु। याे कर्णालीकै एउटा प्रमुख धार्मिक तीर्थस्थल हाे। देउती बज्यैमा प्रशस्त धार्मिक पर्यटक अाउने वातावरणमा स्थानीय सबैको हात हुन्छ।’ गिरीले अहिले वीरेन्द्रनगर नगरपालिकासँग सहकार्य गरेर काम गरिरहेको बताए। यसमा प्रदेश सरकार र केन्द्र सरकारले पनि सहयोग गर्ने विश्वास रहेको र कुरा पनि राखिसकेको उनको भनाइ छ। 

यता, वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा पूर्वाधार निर्माण हुन लागेको बताइन्। ‘नगरपालिकाले गुरुयोजना बनाएर पूर्वाधार निर्माण गरिरहेको छ। नगरपालिकाको काममा सहयोग गर्नुभएको छ। याेअसाध्यै राम्रो काम हो’, उपप्रमुख ढकालले भनिन्।

के छ मन्दिरको गुरुयोजनामा?

प्रसिद्ध धार्मिक पर्यटनस्थलको रूपमा परिचित भए पनि सुर्खेतको देउती बज्यै मन्दिर भौतिक पूर्वाधारको हिसाबले कमजोर अवस्थामा रहेको मन्दिर हो। आन्तरिक तथा बाह्य श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गरे पनि मन्दिर परिसरमा शौचालय, स्नानगृह, पाटी पौवादेखि आधारभूत संरचनासमेत छैनन्। पूर्व राजाहरू भ्रमणमा सुर्खेत आउँदा पूजाआजा गर्ने मन्दिर पनि यही देउती बज्यैको मन्दिर हो। 

गुरुयोजनामा मन्दिरमा मौजुदा पूरा संरचनामा गंगामाला देउती बज्यैको मूल मन्दिर र गणेश मन्दिरबाहेक प्रायः नयाँ संरचना निर्माण गर्न लागिएको हाे। नयाँ संरचनामा शिव, राधाकृष्ण, सनी, भैरव, हनुमानसमेतका मन्दिर सहायक मन्दिरको रूपमा रहनेछन्। त्यस्तै, यज्ञशाला, विवाह मण्डप, शौचालय, स्टेज, सत्संग भवन, धर्मशाला, सुरक्षा पोस्ट, सचिवालय, साना सवारी पार्किङ, साना सवारी प्रवेश, मार्वल फ्लोरिङ, फूल बगैँचा, कुवा बोरिङ, महिला स्नानगृह, पुरुष स्नानगृह, पानी टंकी, पाउपास स्टण्ड, फूल ढुवा नयाँ संरचना रहेका छन्।

आर्थिक स्रोत जुटाउन महायज्ञ

मन्दिरको गुरुयोजनाअनुसार भौतिक पूर्वाधार संरचना निर्माणका लागि अाज (शुक्रबार)देखि मन्दिर प्रांगणमा देउती बज्यै विराट धनधान्याञ्चल महायज्ञ, २०७५ आयोजना गर्न लागिएको छ। देउती बज्यै मन्दिरको पूर्वाधार निर्माणका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ संचालन गर्न लागिएको हो। महायज्ञमा एक रुपैयाँदेखि माथि जति पनि सहयोग गर्न सकिने संयोजक मुकुन्दश्याम गिरीले बताए। ‘हामीले महायज्ञमा सहयोगको कुनै सीमा तोकेका छैनौँ। भक्तजनले एक रुपैयाँदेखि माथि जति पनि सहयोग गर्न सक्छन्’, गिरीले भने, ‘प्रस्तावित सिंगै संरचना कसैले बनाउन चाहे पनि बनाउन पाउने तर गुरुयोजनाअनुसार मात्र बनाउन पाउने गरी व्यावस्था मिलाएका छौँ।’ एउटा इट्टा मात्र मेरो तर्फबाट थप्छु भनेर गरे पनि हुने उनको भनाइ छ।

गंगामाला देउती बज्यै मन्दिरको ऐतिहासिक पक्ष

सुर्खेत जिल्लाको (साविकको लाटिकोइली गाविस) हाल वीरेन्द्रनगरको पिपिरामा रहेको गंगामाला देउती बज्यैको मन्दिर सुर्खेत जिल्लाको मात्र नभएर कर्णाली प्रदेशकै एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो। गंगामाला देउती बज्यै मन्दिरको इतिहास राजी जातिसँग जोडिएको पाइन्छ। राजी जाति सुर्खेत जिल्लामा बसोवास गर्ने पुराना जाति मानिन्छन्।

भेरी नदीको पानीमा जाल हान्दा चार बहिनीलाई राजी जातिका मानिसले भेट्टाई नदी किनारामा देवीको मन्दिर बनाई पूजा गर्ने गरेको भनाइ छ। डोल्पावासीले थाहा पाएपछि गंगामालालाई फिर्ता लिन सुर्खेत पुगेछन्। त्यसबेला गंगामाला रिसाएर अलप भइछन्। अलप भएकी गंगामाया फेरि रोल्पामै उत्पत्ति भएको भन्ने किंवदन्ती छ।

देउतीमाईका सात बहिनीमध्ये केशमाला सल्यान कालीकामाटी, रतनमाला सुर्खेत गोच्चे पोखरा, रुद्रमाला सुर्खेत सुबाघाट, चतुर्माला कल्याण सुर्खेत, चामामाला बबैगुठी बर्दिया, राममाला छिन्चु सुर्खेत र गंगामाला नयाँ गाउँ पिपिरा सुर्खेत रहेको भन्ने जनविश्वास छ। तीमध्ये गंगामालालाई सुर्खेतका राजीहरूले भेरी नदीमा जाल हान्दा कन्याको स्वरूपमा भेटेपछि राजी आश्चर्यका साथै त्रसित भए। देवीले तिमी नडराऊ, बरु मलाई उपयुक्त ठाउँमा स्थापित गर भन्दा राजीले 'हामी मतवाली जाति हाैँ। माछा, मासु खाने जातका हौँ' भनी असमर्थता प्रकट गर्दा देवीले राजीहरूले पूजा गरेपछि आफू सन्तुष्ट हुने कुरा व्यक्त गरिन्। त्यसपश्चात राजीहरूबाट नै देवीको पूजा चल्दै आएको भनाइ छ। 

गंगामालाको पछाडि देवती बज्यै उपनाम थपिएको सम्बन्धमा अर्को किंवदन्ती छ। स्थानीय एउटी विधवा बाहुनीलाई एक दिन नातेदार पाहुनाले 'यो बूढी त बोक्सी रहिछ भनी आरोप लगाए। आफूलाई बोक्सी भनेको आरोप सहन नसकी गंगामालाको मन्दिरमा उनले आत्महत्या गरिन्। अकाल मृत्युका कारण प्रेत आत्माले गाउँलेलाई सताउन थाल्यो। ब्राह्मणबाट होमयज्ञ, पूजापाठ गर्न लगाएपछि प्रेत आत्मा शान्त भयो।' यसरी देउती बज्यै भन्ने उपनाम थपी शक्तिको रूपमा श्री गंगामाला देउती बज्यै भनी पूजा गर्न थालिएको भनाइ रहेको छ।

गंगामाला देउती बज्यै मन्दिरमा अक्षता र ध्वजा उठाई भाकल गर्ने चलन छ। यसरी भाकल गरेमा आफूले सोचेका कुरा पूरा हुने जनआस्था र विश्वास पनि छ। देउती बज्यैले न्याय दिने गर्छिन् भन्ने विश्वास पनि रहिआएको छ। अन्यायीलाई रगत छदाउने र न्यायीलाई फूलप्रसाद दिलाउने परम्परा रहेको बुढापाकाको भनाइ छ। त्यही अलौकिक शक्तिबाट अझै पनि मानिस देउती बज्यैसँग डराउँछन्।

देउती बज्यैमा एकादसी, औँसी, आइतबार र संक्रान्तिका दिनमा पशुबलि दिन छाडिएको छ। परेवाको बलि दिने प्रथा तत्कालीन राजा वीरेन्द्र सुर्खेत भ्रमणमा आएको बेला हटाइएको हो। अहिले परेवाको जोडी उडाउने चलन छ। घण्ट, ध्वजा, त्रिशूल, अक्षता, फलफूल, धुप चढाई देउती बज्यैको पूजा आराधना गर्ने गरिन्छ। 

वि. सं. १८१२ मा ताक्लाकोटमा नेपाल–तिब्बत लडाइँ भयो। गोरखाली सैनिक विजयी भए। नेपाली सैनिकले त्यसबेला प्रयोग गरिएका हतियार तोप, तरबार, खुकुरी र संगीन अहिले पनि जीर्ण अवस्थामा गंगामाला देउती बज्यै मन्दिर नजिकै पीपलको रूखको चौतारीमा छन्। देउती बज्यैको वाहन बजिरमा भने पशुबलि दिइन्छ। राजी थरका पुजारीले अहिले पनि यहाँ पूजा गर्दै आएका छन्।

वि. सं. २०२९ मा तत्कालीन राजा वीरेन्द्रबाट गंगामाला देउती बज्यै मन्दिरको जीर्णोद्धार गर्न लगाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.