नाट्य क्षेत्रमा पूर्वको आशा 'परिवर्तन'

|

काठमाडौं : एक दशअघिसम्म नाटक भन्ने बितिक्कै धेरैको नाक खुम्चिन्थ्यो। रंगमञ्चलाई कसैले बुझ्ने प्रयाससम्म गर्दैन्थ्याे।  काठमाडौंमा रंगकर्मीको केही स्थान थियो। तर मोफसलमा भने कलाकारलाई घृणाको रूपमा मात्र हेर्ने गरिन्थो। त्यसबेला मोफसलमा थिएटरमा त के सडकमासम्म नाटक हेर्न दर्शक आउँदैन थिए।

तर, पछिल्लो समय मोफसलमा पनि विस्तारै परिवर्तन आउँदै गएको छ। सडक नाटकमा मनोरञ्जन लिएसँगै पछिल्लो समय मोफसलमा पनि दर्शकहरू पैसा तिरेर थिएरटरसम्म आउन थालेका छन्।

पूर्वी नेपालमा पनि पछिल्लो समय नाटकप्रति दर्शकको मोह जाग्दै गएको छ। केही वर्षसम्म सडकमा सिमित पूर्वको नाटक अहिले थिएटरसम्म पुगेको छ। गत वर्षदेखि झापामा पनि नाटकप्रति दर्शकको मोह जाग्दै गएको छ। काठमाडौंबाट विस्तारै पूर्वतर्फ सर्दै गएको नाटकप्रतिको मोहले कलाकारलाई मोफसलमै बसेर पनि बाच्न सक्ने अवस्थामा पुर्‍याउँदै गएको छ। 

झापामा अहिले दुईवटा थिएटर क्रियाशील छ। दमकमा कदम थिएटरले काम गरिरहेको छ। गत वर्ष उक्त थिएटरले दमकमा ‘मरिचेको चुप्पी’ नामक नाटक मञ्चन भयो। थिएटर अभावमा यो नाटक निक्कै कष्टकर ढंगले प्रर्दशन गर्न बाध्य भयो आयोजक। एउटा डिपार्टमेन्टको हल भाडामा लिएर उसले नाटक देखायो। त्यो हलमा दर्शकलाई नाटक हेर्न धेरै समस्या भयो। कहिले लाइट नमिल्ने, स्टेज साने भएकाले कहिले कलाकारलाई समस्या हुने। यस्तै समस्या भोग्यो आयोजक संस्थाले।

यस्तै दमकसँगै जोडिएको इलामको चुलाचुलीमा पनि क्रियाशील छ चुलाचुली रंगमञ्च। इलाममा भए पनि उसले धेरै जसो गतिविधि दमक क्षेत्रमा गर्ने गर्छ। 

यस्तै, झापाको पूर्वी क्षेत्र काँकडभिट्टामा क्रियाशील छ परिवर्तन थिएटर। यो थिएटरले पूर्वमा नाटक जगाउन निक्कै ठूलो योगदान गरेको छ। २०६८ सालमा स्थापना भए यता लगातार नाटक प्रदर्शन गर्दै आएको छ। सडक नाटक, कचरी नाटक हुँदै अहिले थिएटर हलसम्मको यात्रामा आइसकेको छ परिवर्तन थिएटर। नाट्य क्षेत्रमा पूर्वकै एउटा आशासमेत बनेको छ परिवर्नत थिएटर।

यो थिएटले धेरै दुःख सहँदै यहाँसम्म आइपुगेको छ। कहिले जेसिजको हल त कहिले खानेपानीको हल। यसरी नै सुरु भएको परिवर्तन थिएटर अहिले आफ्नै थिएटर हलसम्म परिवर्तन भएको छ। यो पूर्वका दर्शकका लागि धेरै खुसीको कुरा हो। यसअघि दुःखले विभिन्न संस्थाको भवनमा नाटक देखाउँदा पनि राजनधानीको सुविधासम्पन्न थिएटरमा भन्दा कम थिएन।

स्थापना कालमा आफूले निक्कै ठूलो पीडा भोकेको प्रस्टै सम्झना छ थिएटरकीअध्यक्ष कविता नेपाललाई। सुरुमा त नाटकका बारेमा थाहा नहुँदा रंगकर्मीलाई पागलसम्म भन्ने गर्थे। नेपाल भन्छिन्, ‘सुरुमा त हामीलाई सबैले पागल नै भन्थे। नाटक बुझ्दैन थिए। अरूको त के कुरा गर्ने आफन्तसम्म हाम्रो नाटक हेर्न आउँदैन थिए। रंगकर्मीप्रति त सबैको नजर नराम्रै हुन्थ्यो ।’ बाटोमा नाचेको गाएको देख्ने बितिक्कै कतिपयले पागलहरू समेत भन्ने गरेकाे उनले सुनाइन्।

तर, पछिल्लो समय पूर्वी नेपालमा पनि नाटकप्रतिको दृष्टिकोण क्रमश बदलिँदै गएको छ। अध्यक्ष नेपाल भन्छिन्, ‘पहिलाभन्दा अहिले धेरै परिवर्तन भएको छ। दर्शकले नाटकलाई मनोरञ्जनसँगै नाटकलाई समाज परिर्वतनको सम्बाहकको रूपमा लिन थालेका छन्।’

अब झनै पूर्वका दर्शकले समय–समयमा नाटक हेर्न पाउने भएका छन्। बैशाख ३ गते थिएटरको उद्घाटन भएपछि अब प्रत्येक महिना जसो नाटक प्रर्दशन गर्ने थिएटरकी अध्यक्ष बताउँछिन्। उक्त थिएटर काँकडभिट्टा सामुदायिक भवनको दोस्रो तलामा बनेको छ। यसले गर्दा थिएटरलाई धेरै सहज भएको छ। ‘पहिला अर्काको भवनमा नाटक देखाउँदा लाइट नमिल्ने महँगो भाडा लाग्ने लगायत समस्या थियो’, उनले चनिन्, ‘एउटा नाटक मञ्चन गरिसक्दा ८० हजारसम्म खर्च हुने गरेको थियो। तर अब आफ्नै छ। सहजिलो भयो।’

उक्त हलमा दर्शकलाई सहज नाटक हेर्ने व्यवस्था मिलाउनका लागि अढाई लाख बराबर खर्च भएको अध्यक्ष नेपालको भनाइ छ। भन्छिन्, ‘निर्वाचनको समयमा आएको १ लाख रुपयाँ र अन्य समयमा हामीले नाटक गरेर जम्मा गरेको पैसाले हामीले थिएटर बनाएका हौँ।’ सडक नाटक र कचरी नाटकमा सीमित परिवर्तन थिएटरले अब सुबिधासहितको थिएटर हलसम्म बनाउन सफल भएको छ।

थिएटर भवनलाई आफ्नै बनाउने लक्ष्य छ अध्यक्ष नेपालको। भन्छिन्,‘हुन त यो भवनमा पनि हामीले अर्को व्यवस्था नभएसम्मका लागि भनेर सहमति गरेका छौँ। नरगपालिकाले भवन बनाउने भनेको छ। अहिले जग्गाको खोजि भइरहेको छ।’

पछिल्लो समय नाटक खेलेरै कलाकार बाच्न सक्ने अवस्था आएको उनी बताउँछिन्। भन्छिन्,‘मोफसलमा पनि नाटकको स्थान राम्रै छ। आफ्नो मिहिनेतमा भर पर्छ। मिहिनेत गर्‍यो भने राम्रै हुन्छ।’ २०५३ सालमा झापाको भद्रपुरबाट ‘खोसिएको सिउँदो’ नामक नाटकबाट रंगमञ्च क्षेत्रमा प्रवेश गरेकी नेपालको पूर्वमा नाटकको क्षेत्रमा योगदान उच्च रहेको बताइन्छ।

यो परिवर्तन थिएटर उनकै पहलमा २०६८ सालबाट सुरु भएको हो। भन्छिन्,‘पहिला परिर्वतन महिला समाज रहेछ। म यहाँ बिहे गरेर आएपछि नाटकको बारेमा केही सिकाउँदा तपाईंले सिकाउनुपर्छ भन्न थाल्नु भयो। त्यसपछि परिवर्तन थिएटर बनायौँ।’

पहिला त कलाकार पाउनै मुस्किल पर्ने गरेको उनको अनुभव छ। भन्छिन्, ‘पहिला त कलाकार पाउन पनि निक्कै मुस्किल थियो। घरमा आफ्ना छोराछोरीलाई कसैले रंगकर्मी बनाउँन चाहँदैन थिए। तर अहिले केही परिवर्तन आएको छ।’ अझै पनि कलाकारमा भने धेरै समस्या रहेको उनी बताउँछिन्। भन्छिन्, ‘विशेष गरेर महिला कलाकारमा चाहिँ धेरै समस्या छ। सिकायो र योग्य बनायो बिबाह गरेपछि यतातिर आउँदैनन्।’

अब मोफसलमा पनि कलाकार उत्पादनका लागि कार्यशाल सञ्चालन गर्ने लक्ष्य रहेको उनी बताउँछिन्। यसरी कार्यशाला गर्दा मोफसलमा रहेका कलाकारले पनि अवसर पाउने उनको बुझाइ छ।

यसरी थिएटर नै स्थापना भएका कारण नाटक समयसम्म मञ्चन गरिरहने उनको लक्ष्य छ। भन्छिन्,‘नाटक त तयार पार्न सकिन्छ। पहिला मैले ललितपुरको गोदावारीमा बस्दा एक रात किताब पढ्ने, अर्को रात नातक लेख्ने,  अर्को रात रिहर्सल र प्रदर्शन गर्ने गरेकी थिएँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.