|

गोरखा : भूकम्पले ध्वस्त गोरखा दरबार पुननिर्माणको लागि शुक्रबार जग मजमुत बनाउने काम सुरु गर्न पुजा गरिएको छ। शुक्रबार विहान १० : ३० बजे दरबारका ब्राह्मणहरूले साइत निकालेर पुजा गरेका हुन्। 

गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले दरबारकाे भूकम्प पछिकाे पुननिर्माणको काम अब अाैपचािरक रुपमा सुरु भएकाे बताए। ‘आज अति उत्तम साइत थियो’, प्रमुख हरि भुसालले भने, ‘पुराना संरचना भत्काएर नयाँ बनाउन ठिक्क पारिएको छ। जग मजबुत बनाउने काम सुरु गर्न पुजा भइहाल्यो अब काम सुरु हुन्छ।’ तीनवर्ष अघिको भूकम्पले करिब ४०० वर्ष पुरानो गोरखा दरबार पूर्ण रुपमा ध्वस्त पारेको थियो। गोरखा दरबार पुननिर्माणको जिम्मा चार करोड ३७ लाख रुपैयाँमा पचलीसीभा जेबी कन्स्ट्रक्सनले पाएको छ। 

निर्माण कम्पनीले अबको दुईवर्ष छ महिनामा गोरखा दरबार पुरानै शैलीमा निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरेको गोरखा दरबार हेरचाह अड्डाकै सुब्बा रामेश्वर कट्टेलले जानकारी दिए। यसअघि भूकम्पले ध्वस्त पारेको दरबार भत्काउँदा पनि साइत जुराएर क्षमा पुजा गरेर भत्काइएको थियो। गोरखा दरबारको जग पुजाका लागि विभिन्न तीन वटा साइत हेरिएको थियो। ‘तीनवटा साइत हेरेको जसमध्ये शुक्रबार राम्रो भएको भएर जगपुजा गरी नयाँ दरबार बनाउन सुरु गरियो’, भुसालले भने। 

१९९० को भूकम्पले समेत क्षति नपुगेको दरबारमा २०७२ वैशाख १२ को भूकम्पले जगैसम्म धक्का दिएको थियो। भूकम्पले ध्वस्त पारेपछि गोरखा दरबार निर्माण भएको ३८८ वर्षपछि फेरि नयाँ दरबार बनाउन लागिएको हो। 

वि सं १६८६ मा राजा राम शाहका पालामा निर्माण भएको दरबार अहिले पुननिर्माण गर्न लागिएको हो। भूकम्पका कारणले मूलदरबार, गोरखनाथ गुफा, लक्ष्मी मन्दिर, रोट पकाउने ठाउँ सबै ध्वस्त भएको थियो। भूकम्पपछि उक्त दरबारको जगबाट पानी छिरेर अन्यत्र र नजिकै रहेको गोरखनाथ गुफामा निस्कने गरेको थियो।

पृथ्वीनारायण शाहलगायतले प्रयोग गरेको राजगद्दी भने पुनर्निर्माण अवधिभरका लागि सुरक्षित स्थलमा सारेर राखिएको कट्टेलले जानकारी दिए। जगैसम्म भत्काउने क्रममा वि सं.१८६३ अभिलेख भएका बुट्टेदार दुईवटा इँटासमेत भेटिएका छन्। ती सबै हेरचाह अड्डाले सुरक्षित राखेको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि शाह वंशका १० जना राजाले उक्त दरबारबाट शासन चलाएको इतिहास छ। 

दरबारको पुननिर्माणको काम चलिरहे पनि यहाँ हुने नियमित पूजा भने नरोक्ने दरबार हेरचाह अड्डाले जनाएको छ। नयाँ दरबार बनाउँदा प्रयोग गर्न मिल्ने झिँगटी, काठ, इँटा लगायतका सामग्रीहरू सुरक्षित ठाउँमा राखिएको उनले जानकारी दिए। गोरखा दरबार भत्काउन मात्र दुई महिना समय लागेको थियो। भूकम्पले ध्वस्त पारेको दरबार परिसर भित्रका राम शाह चौतारो, पाहुना घर, सिँढी बाटो, छानाहरू, गोरखनाथ मन्दिर, रोटपाटी र दमैपाटी मर्मत गरी सकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.