|

कंचनपुर कृष्णपुर नगरपालिकाले शुक्रबार २३ वटा कानुन राजपत्रमा प्रकाशन गरेको छ। राजपत्रमा पाँचवटा ऐन, तीनवटा नियमावली, १४ वटा कार्यविधि, निर्देशिका र एउटा आचारसंहिता प्रकाशन गरिएको हो।

स्थानीय सरकार संचालन ऐन, २०७४ को धारा १०२ को उपधारा १ ले दिएको अधिकार प्रयोग गरी नगरसभाबाट निर्माण गरिएका ऐन, उपधारा २ बमोजिमको अधिकार प्रयोग गरी नगर कार्यपालिकाको बैठकबाट निर्माण गरी पारित गरेका निर्देशिका, कार्यविधि, आचारसंहिताहरू, सोही धाराको उपधारा ३ मा व्यवस्था भएबमोजिम ऐन, कार्यविधि, निर्देशिका,आचारसंहिताहरू कानुनको रूपमा लागू गर्नका लागि स्थानीय राजपत्रमा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्थाअनुरूप राजपत्र प्रकाशन गरिएको नगर प्रमुख कर्णबहादुर हमालले बताए।

राजपत्रको भाग- १ मा प्रकाशन भएका ऐनमा कृष्णपुर नगरपालिका स्थानीय तहको आर्थिक ऐन, २०७४, स्थानीय तहको विनियोजित ऐन, २०७४, आर्थिक कार्यविधि ऐन, २०७४, प्रशासकीय कार्यविधि ऐन, २०७४, सहकारी ऐन, २०७४ रहेका छन्। त्यसैगरी भाग- २ मा कृष्णपुर नगरपालिका नगर कार्यपालिका कार्यसम्पादन नियमावली, २०७४, कृष्णपुर नगरपालिका नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ र कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली, २०७४ रहेका छन्।

यसैगरी राजपत्रको भाग- ३ मा कृष्णपुर नगरपालिका स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि, २०७४, नगरसभा संचालन कार्यविधि, २०७४, नगर कार्यपालिका बैठक संचालन कार्यविधि, २०७४,आधारभूत तहको परीक्षा संचालनसम्बन्धी कार्यविधि, २०७४, मर्मत सम्भार कार्यविधि, २०७४, जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यविधि, २०७४, उपभोक्ता समितिको गठन, संचालन र व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७४, छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका, २०७४ प्रकाशन गरिएका छन्। 

मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन निर्देशिका, २०७४, कार्यपालिकाअन्तर्गत समिति उपसमिति गठनसम्बन्धी कार्यविधि, २०७४, ट्रिपर तथा ट्र्याक्टर संचालन तथा व्यवस्थापन निर्देशिका, २०७४, टोल विकास संस्था संचालन कार्यविधि, २०७४, घ वर्गको निर्माण व्यवसायको इजाजतसम्बन्धी कार्यविधि, २०७४, ब्याक लोडर संचालन तथा व्यवस्थापन निर्देशिका, २०७४ राजपत्रमा प्रकाशन गरिएका छन्। राजपत्रको भाग- ४ मा कृष्णपुर नगरपालिका पदाधिकारीहरूको आचारसंहिता, २०७४ प्रकाशन गरिएको छ।

नगरपालिकाको नियमित कामलाई व्यवस्थित गर्नका लागि आवश्यक पर्ने नीति नियम, निर्देशिका तथा कार्यविधिहरू निर्माणको चरणमा रहेका छन्। कानुनहरू पनि छिट्टै तयार गरी छलफल गरेर पारित गर्ने र राजपत्रमा प्रकाशन गर्दै लगिने नगर प्रमुख हमालले बताए। ऐन, नियमावली, कार्यविधि र निर्देशिका पारित भई राजपत्रमा प्रकाशन भइसकेपछि कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै नगर प्रमुख हमालले भने, ‘नगरको कार्य संचालन गर्नका लागि यसबाट सहयोग पुगेको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.