त्रिविको भिजन २०२०-०३० निर्माण पूर्वाधार तयारी

|

विराटनगर : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले त्रिविको भिजन २०२०-०३० निर्माण गर्न पूर्वाधार तयार भइरहेको बताएका छन्। उच्च शिक्षा सुधार परियोजनाको तत्वावधानमा त्रिविले गुणस्तरीय शिक्षा प्रदान गर्न अवलम्बन गरेका नीति नियम र यसको कार्यान्वयन कसरी गर्न सकिन्छ भन्नेबारे विराटनगरमा आयोजित क्याम्पस प्रमुखहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्। 

उपकुलपति खनियाँले नमुना विश्वविद्यालयको रूपमा संसारमा उत्कृष्ट हजारभित्र त्रिभुवन विश्वविद्यालयलाई पार्न आफ्नो कार्यकालमा प्रयत्न गरिने बताए।विश्वविद्यालयलाई सकेसम्म प्रविधिमैत्री प्रशासनमा रूपान्तरण गर्दै सकेसम्म पेपरलेस नभए पनि लेस पेपर प्रयोग गर्ने प्रक्रियाको प्रविधिमा लैजानुपर्ने आवश्यकता रहेको उपकुलपति खनियाँको भनाइ थियो। 

कतिपय क्याम्पसमा पठनपाठन हुने विषयहरूमा विद्यार्थी संख्या न्यून रहेकामा विद्यार्थीले किन विषय छाडे भनेर सम्बन्धित विषय शिक्षकले समीक्षा गर्नुपर्ने अवस्था आइरहेकाले विद्यार्थीले छोडेका विषय शिक्षकलाई त्रिविले पनि छाड्दै जानुपर्ने बाध्यता रहेको उनले बताए। 

कार्यक्रममा  त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले प्रश्नपत्र निर्माणमा परिवर्तन गर्नुपर्ने बताइन्। त्रिपाठीले परीक्षा संचालन प्रणालीमा सुधार आवश्यक भएको हुँदा प्रश्नपत्र निर्माण तहदेखि नै अभिमुखीकरण जरुरी भएको धारणा राखिन्। सेमेस्टर प्रणालीले अब कक्षाकोठामा शिक्षक-विद्यार्थीको उपस्थिति अनिवार्य हुने हुँदा गुणस्तरीय शिक्षाका लागि यसले मद्दत गर्ने धारणा उनकाे थियो।

त्रिपाठीले प्राविधिक जनशक्ति उत्पादन गर्ने खालको शिक्षाका लागि सरकारले पनि पर्याप्त बजेट छुट्याएको खण्डमा मात्र प्राविधिक शिक्षा प्रदान गर्न सकिने जानकारी दिइन्। दुई दिनसम्म चल्ने कार्यक्रममा प्रदेश १, २ र ३ अन्तर्गतका २० अांगिक क्याम्पसका प्रमुखहरूको सहभागिता छ। कार्यक्रममा सेमेस्टर प्रणलीको विशेषता, त्रिवि सेमेस्टर प्रणालीको अभ्यास, त्यसको सकारात्मक प्रभाव, सम्भावित चुनौती र समाधानका विषयमा छलफल भइरहेकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.