'हामी यौन होइन, कला बेच्छौँ'

|

बिना घुम्टोको लेहंगा–चोली, ओठमा लाल लिपिस्टिक, आँखामा गाजल, निधारमा टीका र रबर ब्याण्डले बाँधेको लामो कपाल भएको एक व्यक्ति दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)को पुरुष शौचालयमा प्रवेश गर्दैथिए।

घटना यही अप्रिल महिनाको हो। रातको करिब ८ बजेको हुँदो हो।

पछाडिबाट गार्डले रोक्ने मनसायले भन्यो, ‘सर तपाईं यसमा जान सक्नुहुन्न।’

उसले तुरुन्त जवाफ फर्कायो, ‘भाइ, म राकेश हुँ... चिनेनौँ? तेस्रो वर्षको विद्यार्थी। अहिले मेरो कार्यक्रम छ। ‘लौंडा नाच’ गर्दैछु, थिएटर ओलम्पिकमा।’

यो वर्ष दिल्लीमा पहिलो पटक थिएटर ओलम्पिक उत्सव आयोजना गरियो। यसमा ३० देशका करिब २५ हजार कलाकारले भाग लिएका थिए। 

यसको समापन समारोहमा राकेश कुमारको एउटा नाचले सबैको मन जित्यो। राकेश दिल्लीको एनएसडीका विद्यार्थी हुन्। जहाँ, अनुपम खेर, पंकज कपुर, ओम पुरीजस्ता नामी हस्तीले नाटक सिकेका थिए। राकेश बिहारको सिवानबाट दिल्ली पुगेका हुन्।

तीव्र आकांक्षा

यहाँ आउनका लागि राकेशले लगातार पाँच पटकसम्म परीक्षा दिए। लिखित परीक्षा पास हुन्थे तर अन्तिम दौडमा उनी सधैँ फालिन्थे। तर, तीव्र आकांक्षाका अघि सधैँ हार कहाँ टिक्छ र! अन्ततः राकेशको आकांक्षाले उनलाई एनएसडीमा डोर्‍याइ छाड्यो।

केटीको भेषभूषामा राकेशले दमदार 'लौंडा नाच' प्रदर्शन गरे। 

बिहारको ग्रामीण क्षेत्रमा 'लौंडा नाच' धेरै प्रसिद्ध छ। यसमा महिलाहरुको वेशभूषामा पुरुषहरू नाच्छन्। यो नाच नाच्ने कलाकारले ‘भोजपुरीका शेक्सपियर’को नामले चिनिने भिखारी ठाकुरलाई आफ्नो आदर्श व्यक्ति मान्छन्। 

उनको नाटक ‘विदेशिया’लाई राकेशले आफ्ना गुरु सञ्जय उपाध्यायका साथमा कैयौँ पटक मञ्चन गरेका छन्। 

तर, यो कला विस्तार–विस्तार लोप हुँदैछ।

एनएसडी र 'लौंडा नाच'

एनएसडीको मञ्चमा यस प्रकारको नाच प्रदर्शन गर्ने सोच कसरी आयो? प्रश्नमा उनको जवाफमा भने, 'लौंडा नाच प्रदर्शन गर्छु भन्ने मैले कहिल्यै सोचेकै थिइन। बाल्यकालमा विवाहहरूमा जान्थेँ। त्यहा नाचिरहेका केटीहरूसामु मैले आफूलाई कहिल्यै रोक्न सकिन। जब म घर आउँथेँ मैले धेरै पिटाइ खानु पर्थ्यो। तर, पनि मैले कहिल्यै छोड्न सकिन।' 

इच्छा यहीँबाट सुरु भएको ठान्छन्, राकेश। बाल्यकालको एउटा घटना स्मरण गर्दै भन्छन्, ‘म ६ कक्षामा थिएँ, एक दिन शिक्षिकाले सोधिन्, ‘को–को नाटकमा भाग लिन चाहन्छ हात उठाऊ’ मैले भाग लिएँ र युवतीको भूमिका निभाएँ। मेरो चरित्रलाई दर्शकले असाधै मन पराए। त्यसपछि भने मलाई यसको लत बस्यो।’

लोकप्रयिता

बिहारको ग्रामीण क्षेत्रमा लौंडा नाचको चमक आज पनि छ। यसमा पुरुष, महिला जस्तै श्रृंगार गरेर नृत्य गर्छन्। तर, यसलाई अश्लील संवाद र इशाराको रूपमा पनि चिनिन्छ। यसको एउटा नकारात्मक पाटो पनि छ। यो नाच नाच्नेलाई समाजले नराम्रो दृष्टिकोणले हेर्छ। 

‘हे केटा, तेरो सामान ठीक छ, हिँड कतै कुनातिर जाऊँ।’ कैयौँ पटक यस्ता अश्लील टिप्पणी राकेश आफैँले सुनेका छन्। यस्ता टिप्पणी सुन्दा कुनै यौन व्यवसायीसँग कुराकानी गरे जस्तो लाग्छ, राकेशलाई। उनी भन्छन्, 'हामी देहव्यापार कहाँ गर्छौँ र यो त एउटा कला हो।' 

यो कलालाई के समाजले जस्तै उनको परिवारले पनि तिरस्कार गरेको छ? यो प्रश्नको उत्तर दिइरहँदा राकेशको मुहारमा अघि देखिएको प्रफुल्लता एकाएक अलप भयो।

उनले हाँसेर बाल्यकालको घटना सुनाए, 'परिवारले मलाई कहिल्यै रोकेन। मेरो बुबाले त पहिलो पटकमै मञ्चमा आएर इनाम दिनुभएको थियो, त्यो पनि पाँच सय रुपैयाँ। मलाई एकदमै खुसी लाग्यो। मेरो बुबा सेनामा हुनुहुन्छ। देख्दा अत्यन्त अनुशासित देखिनुहुन्थ्यो। यद्यपि, मलाई प्रोत्साहन गरेको देख्दा अत्यन्त खुसी लाग्यो।'

लौंडा नाच के हो?

लौंडा नाच अरु नाचभन्दा कसरी अलग छ? 

यस प्रश्नको जवाफमा राकेश भन्छन्, ‘चोकमा ढोलक, हार्मोनियम र झ्याली पिटर दौडीदौडी नृत्य गर्दाको आनन्द बेग्लै हुन्छ। बाल्यकालदेखि नै मेरो आवाज सुरिलो थियो, कम्मरमा लचकता थियो। अनुहारमा श्रृंगार अनि छातीमा नक्कली स्तन हालेर नृत्य गर्दा म पूर्णरूपले चरित्रमा डुब्छु।’

उनी थप्छन्, ‘यो कला लोप हुने अवस्थामा आयो। यस्तो प्रकारको नृत्य गर्ने कलाकार धेरै कम छन्। एउटै इच्छा छ यसको अन्त्य नहोस्। एनएसडीको मञ्चमा लौंडा नाचलाई म छुट्टै चिनारी दिन चाहन्छु।’

बीबीसी हिन्दीबाट अनुदित

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.