|

दार्चुला : विगत ३४ वर्षयता दार्चुला जिल्ला अदालतले दोषी करार गरी कैद, दण्ड, जरिवाना तथा सरकारी बिगो असुल उपर गर्नुपर्ने ४३ अभियुक्तहरू फरार रहेका छन्।

२०४० पुस १९ गतेदेखि २०७४ माघ १४ गतेसम्म जिल्ला अदालत दार्चुलाले फैसला गरी कैद, दण्ड, जरिवाना तथा सरकारी बिगो तोकिएका ४३ जनालाई पक्राउ गर्न नसकिएको जानकारी दिएको छ।

फरार अभियुक्तमध्ये सबैभन्दा बढी वनसम्बन्धी मुद्दाका दोषी छन्। यस्तो मुद्दामा हालसम्म आठ जना फरार रहेका छन्। ज्यान मुद्दाका सात दोषीसमेत फरार छन्। ज्यान मुद्दामा पनि पाँच जना, कर्तव्य ज्यान र दुई जना सवारी ज्यानसम्बन्धी मुद्दाका दोषी छन्। त्यसैगरी सार्वजनिक अपराधसम्बन्धी पाँच, हाडनाता करणीसम्बन्धी चार र जबर्जस्ती करणीसम्बन्धी दुई जना दोषीहरू फरार रहेको दार्चुला जिल्ला अदालत स्रोतले जानकारी दिएको छ।

वनसम्बन्धी मुद्दामा दोषी रहेका आठ जनामध्ये सात जना जिल्लाबाहिर रहेकाले दोषी जुन जिल्लाका हुन्, सोही जिल्लासँग समन्वय गरेर कैद, दण्ड, जरिवाना तथा सरकारी बिगो भुक्तान गराउने गरी पत्राचार भएको जिल्ला अदालत दार्चुलाका श्रेष्तेदार शेरबहादुर विष्टले जानकारी दिए। उनले भने, ‘जिल्लाबाहिरका अभियुक्तमध्ये कतिपयले पुनरावेदनसमेत गरेको हुनाले सम्बन्धित जिल्लालाई नै भुक्तानका लागि पत्राचार गर्ने व्यवस्था छ।’

सार्वजनिक अपराधको मुद्दामा दोषी पाइएका तीन जना पनि जिल्लाबाहिरका नागरिक हुन्।

२८ जिल्लाभित्रका, १४ जिल्लाबाहिरका र २ देशबाहिरका अभियुक्त

कैद, दण्ड, जरिवाना तथा सरकारी बिगो असुल उपर गर्नुपर्ने अभियुक्तमध्ये २७ जना दार्चुला जिल्लाका स्थानीय रहेका छन्। फरार अभियुक्तमध्ये १४ जना जिल्लाबाहिरका छन् भने दुई जना सीमावर्ती क्षेत्र पिथौरागढ भारतका नागरिक रहेका छन्।

जिल्लाबाहिरका अभियुक्तहरूमध्ये छ जना रामेछाप, चार जना कंचनपुर, तीन जना बझाङ र एक जना सोलुखुम्बुका छन्। त्यस्तै, भारतको उत्तराखण्ड प्रदेश, पिथौरागढ जिल्ला धारचुलाका दुई जनाको समेत कैद तथा जरिवाना बाँकी छ।

एक महिना १५ दिनदेखि २० वर्षे कैदसम्म

फरार रहेका अभियुक्तहरुको एक महिना १५ दिनदेखि २० वर्षसम्म कैद भुक्तान गर्न बाँकी छ। सबै फरार अभियुक्तहरूको कैद वर्ष जोड्ने हो भने १४३ जति कैद भुक्तान गर्न बाँकी देखिन्छ। 

२०७३ जेठ ३० गते फैसला भएको तत्कालीन खार गाविस वडा नम्बर- ५ को हाडनाता करणी मुद्दाका दोषीलाई एक वर्ष १५ दिन कैद तोकिएको छ भने विभिन्न मितिमा फैसला भएका कर्तव्य जान मुद्दाका पाँच जनाको २०/२० वर्षका दरले कैद भुक्तान गर्न बाँकी छ।

फरार रहेका अभियुक्तहरूमध्ये २४ जनाको मात्रै कैद तोकिएको थियो। २४ जनामध्ये चोरी डाका मुद्दाका चार जना भने जिल्लाबाहिरका अभियुक्त रहेका छन्।

पाँच लाख ६३ हजार बढी जरिवाना असुल गर्न बाँकी

फरार रहेका ४३ मध्ये २९ जनाबाट मात्रै जरिवाना असुल गरिनुपर्ने देखिन्छ। असुल उपर गरिनुपर्ने रकममा २०० देखि ६३ हजार ४०० रुपैयाँसम्म रहेको छ।

जिल्लाभित्रका फरार अभियुक्तहरूबाट एक लाख ९१ हजार ६९५ रुपैयाँ असुल गर्नुपर्नेछ भने जिल्लाबाहिरका अभियुक्तहरूबाट तीन लाख ३८ हजार ६०० रुपैयाँ तथा भारतीय नागरिकहरूबाट ३३ हजार रुपैयाँ असुल गर्न बाँकी छ।

स्थानीय सरकारहरू सहयोग गर्न तयार

जिल्लाबाहिरका फरार अभियुक्तहरूको कैद तथा दण्ड, जरिवाना असुलीका लागि सम्बन्धित जिल्लासँग समन्वय गर्न र जिल्लामै स्थायी बसोवास भएका अभियुक्तहरूलाई नियन्त्रणमा लिन प्रहरी र स्थानीय सरकारहरूलाई समेत पत्राचार गरेको छ।

जिल्ला समन्वय समितिमार्फत् जिल्लाका नौवटै स्थानीय तहलाई फरार अभियुक्तहरूको विवरण उपलब्ध गराई राज्यलाई सहयोग गर्न पत्राचार गरिएको जिल्ला अदालत दार्चुलाका श्रेष्तेदार विष्टले जानकारी दिए।

जिल्ला समन्वय समितिमार्फत् जिल्ला अदालतको पत्र प्राप्त भएको बताउँदै नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले अदालतले दोषी ठहर्‍याएका फरार अभियुक्तहरूलाई नियन्त्रणमा लिन स्थानीय सरकार पूर्ण सहयोग गर्ने बताए।

प्रहरी क्रियाशील छ : डिएसपी

पछिल्लो समय फरार अभियुक्तमध्ये करिब एक साता अगाडि एक जनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको छ। वर्षौं पहिले फैसला भएका मुद्दाहरूका अभियुक्तहरू नियन्त्रणमा लिन चुनौतीपूर्ण भए पनि फरार अभियुक्तहरूलाई नियन्त्रणमा लिन क्रियाशील रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनबहादुर शाहीले बताए।

चोरी मुद्दामा २०७२ असोज ८ गते फैसला भएको चोरी मुद्दाका फरार अभियुक्तलाई केही दिन अगाडि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख शाहीले जानकारी दिए। फरार रहेका तत्कालीन धारी गाविस वडा नम्बर- ५ का गोकर्ण बमलाई केही दिन अगाडि गोकुलेश्वरबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। उनीबाट १८ हजार १७० रुपैयाँ तथा एक महिना १५ दिन कैद असुल उपर गर्नुपर्नेछ।

अभियुक्तहरू खुला सिमाना र भारतीय नागरिकसँगको सम्बन्धका कारण तत्कालै भाग्न सफल हुने र भारतका विभिन्न शहरमा गएर लुक्ने भएकाले दोषी ठहर्‍याएकाहरूलाई नियन्त्रणमा लिने काम निकै चुनौतीपूर्ण रहेको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.