|

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले राजनीतिक धपेडीमा छन्। पार्टी एकताले सोचेअनुरूप गति नलिइरहेको अवस्था छ। त्यसलाई मिलाउन उनी पटकपटक एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्तामा बस्छन्। 

सार्वजनिक कार्यक्रममा पनि उत्तिकै सहभागिता जनाइरहेका हुन्छन्। चुनावपछि निर्वाचन क्षेत्र चितवन आउजाउ पनि बाक्लो नै छ। 'रिफ्रेसमेन्ट' का लागि भन्दै विभिन्न रिसोर्ट पनि धाइरहेकै हुन्छन्।

हुन त जनयुद्ध कालमा पनि उनी गीतसंगीतमा नभिजेका होइनन्। राजनीतिक परिवर्तनपछि कहिले फिल्म अभिनेत्रीसँग कम्मर मर्काउन त कहिले गीत संगीतमा रमाउन पुग्ने गरेका छन्। 

प्रचण्डलाई शुक्रबार साँझ यस्तै सांगीतिक माहोलमा जम्ने अवसर मिल्यो। उनले उक्त अवसरमा राजनीतिक परिवर्तनलाई संगीत, कला, साहित्य र संस्कृतिले जीवन्त तुल्याएको बताएका थिए। शुक्रबार साँझ राजधानीमा आयोजित 'मेची-महाकाली साङ्गीतिक अभियान'को उद्घाटन गर्दै उनले संगीतको चर्चा मात्र गरेनन् गीतसंगीतसँग रहेको आफ्नो लगाव पनि बाँड्न भ्याए। राजनीतिक परिवर्तनमा यो क्षेत्रको भूमिकाबारे उनले भने, ‘यदि संगीत, कला, साहित्य र संस्कृति जीवन्त नतुल्याउने हो भने राजनीति निरश भएर जान्छ।’

मेची महाकाली सांगीतिक अभियानको सुरुवात समय सान्दर्भिक भएको र यसले नेपाली जनताले गरेको नयाँ समृद्धि र सभ्यतासहितको नयाँ युगको अपेक्षामा टेवा मिलोस् भन्दै शुभकामना दिएका थिए।

प्रचण्डले संगीतकार र कलाकारहरूलाई रोयल्टीको अधिकार स्थापनाका लागि भूमिका खेल्ने पनि विश्वास दिलाएका थिए। उनले भने, ‘शान्ति सम्झौतामा हस्ताक्षर गरेर यो राजनीतिक प्रक्रियामा समावेश भइसकेपछि कलाकार र संगीतकारलाई राज्यको तर्फबाट प्रोत्साहन गर्न, सहयोग गर्न र उनीहरुको अधिकार स्थापना गर्न हमेशा मेरो ध्यान रहेको छ।’

‘मैले पहिलो पटक प्रधानमन्त्री हुँदा कलाकारको अक्षयकोषमा एक करोड रुपैयाँ सहयोग गरेको थिएँ',  उनले भने, 'अब म संगीतकार कलाकारहरूलाई त्यसरी नै राज्यको तर्फबाट सहयोगका लागि पहल गर्ने विश्वास दिलाउन चाहन्छु।’

उनले अहिले नेपाल नयाँ अवसर र चुनौतिसहित इतिहासको असाध्यै महत्त्वपूर्ण क्षणमा रहेको बताएका थिए। पछिल्लो राजनीतिक परिवर्तनबारे उनले भने, ‘हामीले यो अवसरलाई राम्रोसँग सदुपयोग गर्न सक्यौँ भने समृद्धि, सभ्यता र अनुशासनको एउटा नयाँ युग प्रारम्भ हुने बिन्दुमा हामी खडा छौँ तर हामीले त्यसलाई सदुपयोग गर्न सकेनौँ भने निकै अप्ठ्यारो स्थिति सामना गर्नुपर्ने खतरा पनि छ।’

अभियान मार्फत राष्ट्रिय एकताको भाव र परिवर्तन समृद्धि र विकासको सन्देश दिने प्रयास अर्थपूर्ण रहेको प्रचण्डको धारणा छ।

नेपाल समग्र देश संगीतमय

प्रचण्डले नेपाल देश आफैँ संगीतमय देश भएको बताए। उनले भने, ‘हाम्रा नदीनालाहरु झरनाहरू, छहराहरू, हाम्रा भीर पाखा पखेराहरू आफैँ संगीत हुन्। हाम्रा जाति, भाषा र संस्कृति आफैंमा मौलिक संस्कृति र संगीतका धनी छन्। ती सबैको संश्लेषण गरेर हामीले एउटा नयाँ र मौलिक संस्कृति र संगीत विकास गर्दै आएका छौँ।’

राजनीतिक रुपमा निरंकुश व्यवस्थामा पनि संगीत र कलाको क्षेत्र फस्टाउनबाट कसैले रोक्न नसकेको प्रचण्डको भनाइ थियो। नेपालको विविधतामा एकता नै हाम्रो राष्ट्रको पहिचान र गौरव हो, उनले भने, ‘यो गौरवलाई संगीत, गीत र कला मार्फत संवेदनासहित नयाँ राष्ट्रिय एकता र नयाँ समृद्धिको यात्रातिर अगाडि बढ्न हामी सबैले संकल्प गरौँ।’

संगीतप्रतिको लगाव

प्रचण्डले आफ्नो परिवारमा पनि संगीत र संवेदनाको स्थिति रहँदै आएको बताएका थिए। युद्धका समयमा र शान्ति प्रक्रिया पश्चात पनि गीत संगीतप्रति आफ्नो संवेदनशीलता र भावुकता राष्ट्रले देखिसकेको उनको भनाइ छ।

उनले आफ्नो बिहानको शुरुवात नेपाली गीत संगीतबाट हुने बताएका थिए। उनले आफ्नो अनुभव सुनाए, ‘मेरो बिहान ५ बजेबाट सँधै नै आधी घण्टा पुराना संगीतकार र नयाँ संगीतकार त्यसैगरी पुराना गायक र नयाँ गायकका गीत संगीत सुनेपछि सुरु हुन्छ।'

प्रचण्डले आफ्नो बिहान गीत संगीत सुनेर सुरु हुने बताए। उनले आफ्नो बिहानीबारे भने, हरेक दिन बिहान बिहान ५ बजे प्रेमध्वज प्रधान र अरु धेरै वरिष्ठ पुराना संगीतकारका गीत र संगीतबाट र आधुनिक गीतका नयाँ कलाकारहरुका गीत संगीत सुनेर आधा घण्टा बिताउँछु।' त्यसपछि भने आधा घण्टा शारीरिक व्यायाम गरेर पसिना निकाल्ने गरेको प्रचण्डको भनाइ छ।

'यसरी मेरो बिहानको दिनचर्या सुरु हुन्छ। मेरो त्यो आधी घण्टाको गीत संगीत सुनाइले मानसिक ताजकी भएको महसुस गर्छु। र, आधी घण्टाको 'फिजिकल एक्सरसाइज'ले  शरीरमा ताजगी र स्फूर्ति बढेको महसुस गर्छु।'

प्रचण्डले आफ्नो घरमा हार्मोनियम र गीतार बज्ने गरेको बताए। उनले भने, 'मेरो घरमा एउटा कोठामा हार्मोनियम बज्छ, अर्को कोठामा गितार बज्छ यस्तै, गर्दैगर्दै जीवन अगाडि बढिरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.