|

काठमाडौं : परमाणु कार्यक्रम रोक्ने उत्तर कोरियाको घोषणालाई अमेरिकाले स्वागत गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वयम उत्तर कोरिया र पुरै विश्वका लागि यो सुखद समाचार भएको बताए।

‘पूरै विश्वका लागि यो खुशीको समाचार हो', राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, 'यो ठूलो सफलता हो आगामी शिखर वार्ताका लागि हामी आशावादी छौँ।’ यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले अब थप परमाणु परीक्षण आवश्यक नरहेको बताएका थिए।

उत्तर कोरियाली सरकारी समाचार संस्थाका अनुसार सत्तारुढ दल वर्कर्स पार्टीको बैठकले मिसाइल परीक्षण नगर्ने निर्णय गरेको हो। दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापका अनुसार आजदेखि उत्तर कोरियाले मिसाइल र अन्तरमहादेसीय ब्यालेष्टिक मिसाइल परीक्षण रोकेको छ।

परमाणु हतियार उत्पादन र प्रयोगका कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघसहित विभिन्न मुलुकले प्रतिबन्ध लगाउँदै आएका छन्। गएको वर्ष नोभेम्बरमा उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइल परीक्षण गर्दै त्यसले अमेरिकासम्म मार हान्न सक्षम रहेको दाबी गरेको थियो।

त्यसपछि अमेरिका र उत्तर कोरियाबीच युद्धको वातावरण बन्दै गएको थियो। तर पछिल्लो पटक दक्षिण कोरिया र अमेरिकासँगको सम्बन्ध सुधार्दै लगेको उत्तर कोरियाको मिसाइल परीक्षण रोक्ने निर्णयले संवादको वातावरणलाई थप सहयोग पुग्ने अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.