|

दमक(झापा) : झापाको दमक–१० र कमल–७ को जग्गामा निर्माण हुने दमक औद्योगिक पार्कका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ। औद्योगिक क्षेत्र स्थापना गर्ने प्रयोजनका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गा प्राप्त हुनुपर्ने भएकाले मुआब्जा माग दाबीसहित निवेदन लिने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो।

२०७२ चैत १ र २०७३ असार २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय झापाले गत फागुन १४ गते सूचना प्रकाशित गरेर माग दाबी दरखास्ता आह्वान गरेको थियो। सोहीअनुसार अधिग्रहणको प्रक्रियाले गति लिएको हो।

औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गा प्राप्त हुन आवश्यक भएकाले कम्पनीले जिल्ला प्रशासन कार्यालयमार्फत अधिग्रहणको प्रक्रियाअघि बढाएको हो।

१४९ को माग दाबी

औद्योगिक पार्कले उपयोग गर्ने जमिनमा मुआब्जा माग दाबीसहित १९४ ओटा निवेदन परेका छन्। निर्धारित समयभित्र मुआब्जा माग दाबीसहित १९४ ओटा निवेदन दर्ता भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, दमक औद्योगिक  क्षेत्रको जग्गा प्राप्ति सम्बन्धी सम्पर्क कार्यालय दमकका मुख्य सम्पर्क अधिकृत सन्देश थापाले जानकारी दिए।

‘३६७ बिघा जग्गा प्राप्तिका लागि ४३० जना जग्गाधनीका नाममा सूचना प्रकाशित भएको थियो’, अधिकृत थापाले भने, ‘सोही सूचनाअनुसार हामीले निदेवन लिएका छौँ र निर्णयका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिमा पठाएका छौँ।’ दर्ता भएका निवेदन र माग दाबीमाथि प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले मुआब्जा मूल्याङ्कन गरेपछि भुक्तानी प्रक्रियाअघि बढ्ने जनाइएको छ।

चालु वर्षमै निर्णय : प्रजिअ

जिल्ला प्रशासन कार्यालयले साविक नक्साको सिजुवा, दमक, राजघाट र मधुमल्ला अन्तर्गत पर्ने हालका दमक नगरपालिका र कमल गाउँपालिका जग्गाधनीहरूको नाममा सूचना सार्वजनिक गरेको थियो। जग्गा प्राप्ति ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम जग्गाको मुआब्जा माग दाबीको सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दमकको औद्योगिक पार्क निर्माण स्थलका जग्गा धनीहरूको माग दाबीसहितको आवेदन प्राप्त भएको बताएका छन्। यसमाथि जति सक्दो चाँडो निर्णयमा पुग्ने प्रयास गरिने उनले जनाएका छन्।

‘हामीलाई दमकस्थित औद्योगिक  क्षेत्र व्यवस्थापन लिमिटेड, दमक औद्योगिक  क्षेत्रको जग्गा प्राप्ति सम्बन्धी सम्पर्क कार्यालयबाट पहिलो चरणमा फाइल आएको छ’, उनले भने, ‘फाइलमाथि अध्ययनको काम सकिएको छैन, तर हामी जति सक्दो चाँडो यो काम सक्ने तयारीमा छौँ।’ चालु आर्थिक वर्षभित्रमै मुआब्जा सम्बन्धीको काम सक्ने तयारी अनुसार काम भइरहेको उनले बताए।
    
यो औद्योगिक पार्क चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’ परियोजना अन्तर्गत निर्माण हुने भनिएको छ। यसमा लगानीका लागि इच्छुक रहेको भन्दै केही महिनाअघि चिनियाँ उच्च स्तरीय राजनीतिक नेतृत्व टोलीले पनि अवलोकन गरिसकेको छ। यस्तै, दमक नगरपालिकाले सो औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गर्नका लागि कम्तीमा १० वर्षसम्म कुनै उद्योगलाई कर नलिने नगरसभाबाट निर्णय गरिसकेको छ। 

पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत अन्तर्राष्ट्रिय मापदण्डका उद्योगहरू स्थापना हुने र करिब तीन खर्व रुपैयाँ लगानी रहने जनाइएको छ। यसले करिब एक लाख जनालाई रोजगारीको अवसर दिने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.