|

कालीकोट : स्याउको राजधानीका रूपमा चिनिएको कालीकोटको तिलागुफा नगरपालिकाको राँचुली घताडदेखि फोई पिपलगौडासम्मको चार किलोमिटर सडकमा गाडी गुड्न थालेका छन्। तिलागुफा नगरपालिकाले ४५ लाखको लगानीमा ग्रामीण कृषि सडकको निर्माण गरिएको हो।

ग्रामीण कृषि सडक निर्माण भएपछि स्थानीयलाई कृषिवस्तुको बजारीकरणमा सहज हुने स्थानीयको बुझाई छ। शनिबार सडकको उद्घाटन गर्दै कालीकोटका प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावतले सडक बनेपछि स्थानीय उत्पादन बजारीकरणमा सहज हुने बताए। ‘कालीकोटको पहिलो प्राथमिकता ग्रामीण सडक बनाउने नै हो।’ उनले भने, ‘ग्रामीण सडक निर्माण भएमा स्थानीय उत्पादन र जडिबुटी बजारीकरणमा सहज हुनेछ।’

नगरपालिकामा स्याउ, सिमी,आलु लगायतका कृषिजन्य वस्तुको उत्पादन धेरै हुने गर्दछ। तर सडक नहुँदा त्यसको बजारीकरणमा समस्या भइरहेकाे थियाे। तर अव नगरपालिकाले कृषि सडक निर्माण गर्न प्राथमिकतामा राखेकाे नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। ‘ग्रामीण सडकको निर्माण नहुँदा स्थानीय उत्पादनको बजारीकरण नै हुनै छाड्यो।’ नगर प्रमुखले भने, ‘त्यसैले हामीले नगरपालिकाकाे विकासमा सडकलाई पहिलो प्राथमिकतामा राखेका हौं।’

नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को तेस्रो चौमासिकसम्म १०० किलोमिटर आन्तरिक सडक निर्माण गरेको छ। तिलागुफा नगरपालिकाकाले २३ किलोमिटरको चौखोला–ओखरभिटा सडकखण्ड, १६ किलोमिटरको चिल्खाया–रुरु सडकखण्ड, १७ किलोमिटरको गाल्जे–जुबिथा, २८ किलोमिटरको नाग्म–फोइमहादेव सडकखण्ड र १६ किलोमिटरको राचुली जुबिथा सडकखण्ड निर्माण गरिसकेकाे छ।

नगरपालिकालले दुइवर्षभित्र सबै वडामा सडक सञ्जाल पुर्‍याउने लक्ष्य लिएको छ। त्यसै अनुरुप सबै वडामा सडक निर्माणको कामलाई तीब्रता दिएको तिलागुफा नगरपालिकाका प्रमुख शाहीले बताए। ‘दुई वर्षमा नगरपालिका भित्रका सबै वडामा सडक पुर्‍याउने लक्ष्य लिएका छौं। अहिले सडक निर्माणका काममा तीब्रता दिएका छौं।’ नगरपालिकाको पहिलो आम्दानीको स्रोत कृषि भएका कारणले आफूले कृषिलाई पहिलो प्राथमिकता दिएको नगर उप–प्रमुख दन्ता नेपालीले बताइन्। ‘यहाँका स्थानीयको पहिलो आम्दानीको स्रोत भनेको कषि उपजका वस्तुहरू हुन्। कृषि उपजका वस्तुको बजारीकरण गर्न कृषि सडक निर्माण पहिलो प्राथमिकतामा राखेका छौं।’ उनले भनिन्, ‘सडक निर्माण नहुँदा कृषि उपजका वस्तुको बजारीकरण हुन सकेकाे छैन।’

नगर कार्यपालिकाले सडक निर्माणमा झण्डै ७ करोड रकम विनियोजन गरेकोमा त्यसमध्ये आधाभन्दा बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ। अव तिलागुफा नगरपालिका–१० को रुरुबन्चुमा पनि गाडी पुगेको छ। स्थानीय तहको सरकारले जिल्लामा नै पहिलो पटक स्थानीय बजेटबाट नै सडक निर्माण गरेर गाडी पुर्‍याएको हो।

स्थानीय तहबाट ३२ लाख रुपैयाँ विनियोजन गरेर चिल्लाया भन्दा विकट रुरुबन्चुसम्म ८ किलोमिटर सडक निर्माण भएपछि पहिलो पटक गाडी पुगेको हो। तिलागुफा नगरपालिकाकाे विकट गाउँमा आफ्नो पहिलो प्राथमिकता गाडी पुर्‍याउने थियाे। तिलगुफामा गाडी पुर्‍याउन आफूले निकै मिहिनेत गरेको तिलागुफा नगरपालिकाका प्रमुख शाहीले बताए। ‘नगरपालिका भित्रको निकै विकट गाउँ रुरुबन्चुमा गाडी पुग्याे। यहाँका स्थानीयले भारी बोक्ने दिन अब हटेका छन्।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.