|

बुटवल : आँपका फल भर्खर लाग्दै थिए। तर, विडम्बना लटरम्म हुन पाएनन्। अाँपका रुख ढालिए,केही ढालिँदैछन्। फल लाग्दै गरेका आँपका रुख सडक विस्तारका क्रममा ढालिएका हुन्। 

भैरहवाको लुम्बिनी रोडदेखि बुद्ध जन्मस्थल लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवासम्मको सडक किनारमा रहेका आँपका रुख अब देख्न पाइने छैनन्। गर्मीले चिट्चिट पसिना आउने समयमा पनि शीतलता दिने हरियाली नामेट हुने भएको छ। रुपन्देहीको सदरमुकाम सिद्धार्थनगरदेखि कपिलवस्तुको सदरमुकाम तौलिहवासम्मको सडक क्षेत्रमा पर्ने आँपलगायत ३८ प्रजातिका एक हजार ९०८ वटा रुख धमाधम काटिँदैछन्।

भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाअन्तर्गत सडक आसपासका रुख काटेर सडक विस्तारको काम अगाडि बढाइएको छ। सडक निर्माणको जिम्मा पाएको भारतको गवार कन्सट्रक्सन लिमिटेड गुणगाँवले आवश्यकताअनुसार रुख कटानी गर्ने अनुमति पाएको छ। अहिलेसम्म ४०० भन्दा बढी रुख काटिसिकएका छन्। सडक क्षेत्रमा पर्ने रुख काटिँदै लगिने जिल्ला वन कार्यालय रुपन्देहीका अधिकृत रोमराज लामिछानेले बताए। उनकाअनुसार माघ १८ मा नै सरकारी रुख हटाउने मापदण्ड २०७१ अनुसार रुख कटान गर्ने स्वीकृति दिइएको थियाे। 

रुख काटिएपछि उजाड बन्ने सडक क्षेत्रमा वन कार्यालयले नयाँ रुख रोप्ने भएको छ। ‘एउटा रुख काटे बराबर २५ वटा रुख रोप्नुपर्ने शर्त नै छ।’ अधिकृत लामिछाने भने, ‘त्यसैअनुसार नै काम हुन्छ।’ सरोकारवालाहरूले सडक क्षेत्रका रुख काट्नुको सट्टा आधुनिक प्रविधिको प्रयोग गरी स्थानान्तरण गर्न माग गरेका थिए। ‘आधुनिक प्रविधिको प्रयोग गरेर रुख स्थानान्तरण गर्न सम्भव भएन,’ आयोजनाका प्रमुख इन्जिनियर राजेश पौडेलले भने, ‘अन्तिम समयमा आएर रुख काट्नुको विकल्प नै भएन।’

अघि बढ्यो सडक स्तरोन्नतिको काम 

भैरहवा-लुम्बिनीदेखि तौलिहवासम्मको ४१.१३ किलोमिटर सडकको स्तरोन्नति धमाधम हुँदैछ। भैरहवादेखि लुम्बिनीसम्मको सडक अहिले दुई लेनको छ। यो सडकमध्ये भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चोकसम्मको ३.६८ किलोमिटर सडक छ लेन र विमानस्थल चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोकसम्मको १४.४२ किलोमिटर सडक चार लेनको बनाउन लागिएको छ। लुम्बिनीदेखि कपिलवस्तुको तौलिहवासम्मको २३‍.३० किलोमिटर एक लेनको सडकलाई दुई लेनको बनाइँदैछ। सडकको काम आगामी २०१९ डिसेम्बरसम्ममा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ।

सडक निर्माणका क्रममा सडकको दायाँबायाँ रहेका करिब ११ वटा घरका पर्खाल भत्काउनुपर्ने आयोजना प्रमुख पौडेलले बताए। जग्गा प्राप्ति ऐन २०३४ अनुसार सडक क्षेत्रमा पर्ने घर पर्खाललगायतका संरचना भत्काउँदा मुआब्जाको सट्टा क्षतिपूर्तिको व्यवस्था मिलाइने पौडेलले जानकारी दिए। छ लेन सडकको बीच भागमा ‘ग्रीन वेल्ट’, दुई-दुई लेनको सडक र दायाँबायाँ एक-एक सर्भिस लेनसहितको ‘फुटपाथ’ समेत निर्माण गरिने छ। सडक खण्डमा ३६ वटा यात्रु प्रतीक्षालय रहने छन्। 

एसियाली विकास बैंकको आर्थिक सहयोगमा भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाअन्तर्गत निर्माण हुन लागेको यो सडकको लागत भ्याटसहित  एक अर्ब ९३ करोड ६ लाख ३६ हजार २२७ रुपैयाँ ५५ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.