|

दमक(झापा) : झापाली किसान आन्दोलनका अगुवा तथा झापा विद्रोहका योद्धा वृहस्पति उप्रेतीको शनिबार झापाको कन्काईमा अन्त्येष्ठि गरिएको छ। फोक्सोको संक्रमणका कारण लामो समय उपचार गराएका ७१ वर्षीय उप्रेतीको शुक्रबार निधन भएको थियो। 

उनी झापाको तत्कालीन माहाभारा गाविस वडा नं. ६ चौरीमा करीब साढे तीन दशक बसोबास गरी दुई वर्षअघि झापाकै अर्जुनधारा बसाइँ सरेका थिए। एमाले नेता नरेश खरेलका अनुसार उनी २०२६/०२७ सालदेखि विद्यार्थी आन्दोलन हुँदै वामपन्थी राजनीतिमा लागेका थिए।

२०२८ सालको झापा विद्रोहमा समेत गरामनी क्षेत्रको नेतृत्व गरेका उप्रेती २०२९ सालमा पक्राउ परेका थिए। उनी नेपाली वर्गीय मुक्ति आन्दोलनका एक योद्धा रहेको एमालेका पूर्व बैकल्पिक पोलिटब्युरो सदस्यसमेत रहेका एमाले नेता खरेलले बताए।
एक वर्ष उनीहरुसँगै जेलसमेत बसेका थिए। त्यसपछि उनले हालका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत केही समय जेल जीवन बिताएका थिए। 
एमाले पार्टी विभाजन भई माले बने पछि उनी त्यसतर्फ लागेका थिए। नेता राधाकृष्ण मैनाली तथा माले महासचिव सीपी मैनालीका विश्वास पात्रसमेत रहेका उनी माले–एमाले एकतापछि भने सक्रिय राजनीतिमा थिएनन्। उप्रेतीका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन्। 

उप्रेतीको पार्थिव शरिरमा नेकपा एमालेका नेताहरु नरेश खरेल, मनकुमार गौतम, झापा क्षेत्र नं २ की सांसद समेत रहेकी नेकपा एमालेकी नेतृ पवित्रा खरेल र पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.