विराटनगर : पूर्वी मोरङमा रहेको उर्लाबारीमा अवैध ढंगले खोला उत्खनन् तथा वन फँडानी भएको पाइएको छ। प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा गएकोे अनुगमन टोलीले अवैध उत्खनन् भएको निष्कर्ष निकालेको हो। उर्लाबारी ४ को सोल्टीखोला, उर्लाबारी १ को मिक्लु खोलामा अवैध उत्खनन् भएको तथा उर्लाबारी ७ मा रहेको वन व्यापक फँडानी भएको अनुगमन टोलीले जनाइएकाे छ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले वातावरणीय परीक्षण नगरेको स्थानबाट सोल्टी खोलामा ठेकेदार कम्पनीले ढुंगा गिट्टी उत्खनन् गरी बिक्री गरेको पाइएको बताए। प्रजिअ आचार्यले भने, ‘खोलामा थुप्रिएको गिट्टी बालुवा साइड गर्न अनुमति दिइए पनि सामग्री बिक्री वितरण गर्न दिइएको थिएन।’ तर, उक्त ठेकेदार कम्पनीले ढुंगा गिट्टी व्यापक मात्रामा बिक्री गरेको देखियोआचार्यले बताए।
‘बिक्री गरेको रसिद पाइएमा तुरुन्त ठेक्का प्रक्रिया रद्ध गर्न निर्देशन दिन्छु’, आचार्यले भने, ‘च्यानलाइजका नाममा गिट्टी बालुवा बिक्री गरेको पाइएको छ।’ उक्त ठेकेदार कम्पनीका मालिक इटहरीका व्यवसायी भीम पौडेल हुन्।
स्रोतका अनुसार सोल्टी खोलामा मापदण्ड विपरीत तीन किलोमिटरसम्म ढुंगा गिट्टी उत्खनन् गरी बिक्री गरेको छ। यस्तै, मिक्लु खोलामा पनि पाँच सय मिटरसम्म अवैध ढंगले ढुंगा गिट्टी निकालेर बिक्री गरेको देखिन्छ। यस्तै, उर्लाबारी ७ मा ३ विघा क्षेत्रफलमा रहेको आमा मिलन केन्द्रको निजी जंगल फँडानीको नाममा सरकारी पर्ती जग्गाका रुख पनि कटान गरेको पाइएको छ। ‘निजी जंगल फँडानी गर्न वन कार्यालयको अनुमति पनि लिएको देखिँदैन’ स्रोतले भन्यो, ‘सरकारी पर्ती जग्गाका रुख कटान गरेको उजुरी पनि परेको छ।’
प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार निजी जंगलको नाममा सरकारी जग्गाका रुख काटिएको विषयमा अनुगमन गर्न जिल्ला वन र स्थानीय सरकारी निकायलाई निर्देशन दिइएको छ। त्यस्तो पाइए जो सुकैलाई कारबाहीको दायरामा ल्याइने उनले बताए। अनुगमन टाेलीमा प्रदेभा सांशससद कुशल लिम्बूको पनि सहभागिता थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।