|

इलाम : पाहुना टोली सिक्किम युनाइटेड क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मार्इ भ्याली गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ। ठूलो टुँडिखेलमा सम्पन्न खेलमा सिएमजी संकटा क्लबलाई १–० गोल अन्तरले पन्छाउँदै सिक्किमले विभागीय टिम त्रिभुवन आर्मी क्लबसंगको क्वारटफाइनल भेट पक्का गरेको हो।

सिक्किमको जीतमा पहिलो हाफको ३१औँ मिनेटमा सञ्जय क्षेत्रीले गरेको गोल नै निर्णायक बन्यो। करन राईको क्रसपासमा संकटका गोलरक्षक विनय श्रेष्ठलाई बिट गराउँदै क्षेत्रीले आफ्नो टिमलाई अघिल्लो चरणमा प्रवेश गराएका हुन्।

तीन जना विदेशी खेलाडीसहित मैदान उत्रिएको संकटाले दोस्रो हाफमा सिक्कीमलाई दबाबमा राखे पनि गोल गर्न नसक्दा प्री–क्वार्टरफाइनलबाटै बाहिरिन बाध्य भयो। गत संस्करणमा संकटा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबसँग पराजित बन्दै क्वार्टरफाइनलबाट बाहिरिएको थियो। दुवै टिमले पाएका केही अवसरहरुले पोस्टको दिशा लिन सकेन। खेलको २२ औँ मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीको प्रहारले गोलपोस्टको फ्रेम लिन सकेन।

२९औँ मिनेटमा संकटाको गोलरक्षक विनय श्रेष्ठले भली गरेको बल सिक्किमका कुनाल तामाङको हेड पोस्टमाथिबाट बाहिरियो। दास्रो हाफको २०औँ मिनेटमा सिक्किमका गोलरक्षक उर्गेन पिन्सो शेर्पा बिट भएको अवस्थामा संकटाका दिपेश आले मगरले गरेको प्रहारले गोलपोस्टको फ्रेम लिन सकेन। खेलको अन्तिम मिनेटमा  टेम्पीले काउन्टरमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा संकटा पहिलो खेलबाट बाहिरियो। 

संकटाको प्रहार बिफल बनाउने सिक्किमका गोलरक्षक उर्गेन पिन्सो शेर्पा म्यान अफ द म्याच घोषित बन्दै नगद १० हजार र चाँदीको मेडल प्राप्त गरे। सिक्किम र संकटा पहिलो पटक आमनेसामने भएका हुन्।

प्रतियोगिता अन्र्तगत आइतबार अन्तिम प्री–क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली भारतको दुर्गापुर स्टिल टि.एस.वाई कोलकाताबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.