|

उदयपुर : ‘आज पनि धन्न बाँचेर घर आइपुगियो’ यो भनाइ हो कटारी नगरपालिका २ का स्थानीय व्यवसायी हरिगोपाल सन्तोष कार्कीकाे। व्यवसायको कामले दैनिक मोटरसाइकलमा यात्रा गर्ने श्रेष्ठलाई सिद्धिचरण लोकमार्गको मिर्चैया– कटारी खण्ड पार गर्दा अर्काे जीवन पाएको महसुस हुन्छ।

मारुती सिमेन्टको चुनढुंगा बोक्ने टिपरबाट जोगिएर गन्तव्यमा पुग्दा उनी आफूलाई भाग्यमानी ठान्दछन्। भत्किएको बाटो र टिपरको चापका कारण सिद्धिचरण लोकमार्गमा यात्रा गर्ने जो कोही यात्रु सडकको अवस्थालाई धिकार्न पछि पर्दैनन्। सिद्धिचरण लोकमार्ग खण्डमा दैनिक चल्ने ५०० भन्दा बढी टिपरका कारण सडक जीर्ण हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ।

चुरे उकालोमा दैनिक आधा दर्जन टिपर दुर्घटनामा पर्छन्। क्षमता भन्दा बढी भार बोकेर टिपर बीच बाटोमा केही बिग्रेका त केही दुर्घटना भएको अवस्थामा पाइन्छन्। बाटो बिग्रनु र दुर्घटनाको एउटै कारण बन्ने गरेको छ टिपरको ओभरलोड।

कटारी-मिर्चैया सडकमा पर्ने २८ किलाेमिटर र मिर्चैया बडमी ४० किलोमिटर सडकमा ओभरलोड बाेक्ने टिपरले विगारेको सडककै कारण दुर्घटना हुने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख डम्बर दियालीले बताए। ‘मिर्चैैया-कटारी सडकमा क्षमताभन्दा बढी मालवाहक सवारी साधनले सडक नराम्ररी बिगारेको छ’, प्रहरी प्रमुख दियालीले भने, ‘अधिकांश दुर्घटनाको कारण सडक देखिन्छ।’

सडक सञ्चालनमा आएदेखि हालसम्म ५०० भन्दा बढी दुर्घटनामा २०० भन्दा बढीको ज्यान गइसकेका छ। उनले कटारीमा ट्राफिक प्रहरी व्यवस्थित नहुँदा कति दुर्घटना भए। दुर्घटनामा कतिको मृत्यु भयो भन्ने आधिकारिक तथ्यांक नभएको गुनासो गरे। ‘म कटारी ट्राफिक प्रहरी प्रमुख भएर आएको सात महिना भयो’ उनले भने, ‘अभिलेखमा ३६ वटा दुर्घटना भएका छन्,जसमा १० जनाको मृत्यु भएको छ भने ५० जना गम्भीर घाइते भएका छन्।’ 

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ सिमेन्ट उद्योगको कच्चा पद्धार्थ बोक्ने सवारीका कारण बाटो बिग्रेको आरोप लगाउँछन्। ‘टिपरका कारण कटारी प्रवेश गर्ने मार्ग जीर्ण बनेको छ।’ प्रमुख श्रेष्ठले भने, ‘दस टन क्षमताको बाटोमा २० टनसम्म लोड बोक्ने गरिएको छ।’ ओभरलोडको कारण सडक यातायातका साधन चल्न नसक्ने अवस्थामा पुगेकाले डिभिजन सडक कार्यालय लहानलाई मर्मत गर्न बारम्बार अनुरोध गरिएको श्रेष्ठले बताए। ‘यात्रुबाहक सार्वजनिक सवारी र उद्योगको कच्चा पदार्थ ढुवानी गर्ने गाडी गुड्ने बाटो एउटै भएर यात्रुहरूले कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ’ प्रमुख श्रेष्ठले भने।

स्थानीय सरकारले केन्द्रीय सरकारसँग समन्वय गरेर खानीका लागि बैकल्पिक सडक निर्माण गर्ने तयारी भइरहेको प्रमुखको भनाइ छ। सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी-मिर्चैया सडक खण्डमा चुनढुंगा बोक्ने टिपरलाई ओभरलोड बोक्न रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले सडकको अवस्थालाई हेरेर ओभरलोड बोक्ने टिपरहरूलाई कारबाही सुरू गरिएको जनाएको छ। ओभरलोड बोक्ने टिपरका कारण सवारी दुर्घटनाको जोखिम बढेकाले प्रहरीले क्षमता भन्दा बढी बोक्ने सवारीलाई कारबाही सुरु गरिएको हाे।

उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार क्षमताभन्दा बढी बोक्ने टिपरलाई लोड व्यवस्थापन स्वरुप ढाला भन्दा बढीको सामान झार्न लगाइएको बताए। शिव ओम मल्टिप्रपोज प्रालिले सिरहाको चोहर्वामा रहेको मारुती सिमेन्टका लागि चुनढुंगा ढुवानी गर्दै आएको छ भने कसमस सिमेन्टले धनुषाको महेन्द्रनगरसम्म चुनढुंगा ढुवानी गर्दै आएका छन्।

मारुती सिमेन्टले सिन्धुलीको ककुर ठाकुर र कसमस सिमेन्टले कटारी नगरपालिकाको सिरिसेबाट ढुङ्गा उत्खनन गर्दे आएका छन्। कटारी–मिर्चैया खण्डको २६ किलोमिटर सडकमा हाल ५०० को हाराहारी टिपर र अन्य सवारी साधन एक सय ५० गरी ६५० सवारी साधन चल्ने गरेको ट्राफिक प्रहरी पोस्ट कटारीले जनाएको छ।

कटारी नगरपालिकाका १,२ र ३ का स्थानीयहरू धुलोधुवा र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। टिपरका कारण सडक जीर्ण भएको र अन्य सवारी साधन सञ्चालन गर्न कठिनाई भएको भन्दै छलफल भए पनि समस्या समाधान नभएको स्थानीयवासीहरूले गुनासो गरेका छन्। 

सिद्धिचरण राजमार्गमा टिपर अत्याधिक चल्ने भएकाले धुलो-धुवाका कारण स्थानीयवासीको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै सडकको दीर्घकालीन समाधान हुनु पर्ने कटारीका स्थानीयवासीको माग छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.