|

सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ। पहिलो खेलमा पराजित भएपछि सेमिफाइनल प्रवेशका लागि नेपालले अर्को खेल जित्नै पर्ने दबाब बढेको छ।

बंगबन्धुस्थित कबर्डहलमा शनिबार भएको उद्घाटन खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भयो। पहिलो सेटमा २६-२४ को कठिन जित निकालेको नेपालले त्यसपछिको तीनै सेट गुमाउन पुगेको थियो। दोस्रो सेट १८–२५, तेस्रो सेट १४–२५ र चौथो सेट २१–२५ ले गुमाउन पुगेको थियो।

स्वर्ण जित्ने लक्ष्यसहित ढाका पुगेको नेपाली टोलीले पहिलो खेलमा हार बेहोरे पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवितै छ। नेपालले आइतबार माल्दिभ्सलाई पराजित गरे नेपालको सेमिफाइल सम्भावना बाँकी रहने छ। पराजित भएको खण्डमा नेपाल च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिनेछ।

मध्य एसियाका दोस्रो स्तरका टोलीहरुका लागि प्रत्येक वर्ष आयोजना हुदै आएको सेन्ट्रल जोन प्रतियोगिता नेपालका लागि निकै महत्त्वपूर्ण प्रतियोगिता हो। सेन्ट्रल जोन प्रतियोगिताको चौथो संस्करणमा नेपालले चौथो पटक सहभागिता जनाएको हो। यही प्रतियोगितामा नेपालले ४२ वर्षे भलिबल इतिहासमा गत वर्ष कास्य जित्दै ऐतिहासिक पदक हात पारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.