|

काठमाडौं : नेपालले बहुचर्तित केरुङ–काठमाडौं, पोखरा–लुम्बिनी रेलमार्ग निर्माणमा सतप्रतिशत लगानी (अनुदान)का लागि चीनलाई प्रस्ताव गरेको छ । चिनियाँ समकक्षी वाङसँग ५ वैशाखमा बेइजिङमा भएको औपचारिक वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले ‘मित्रताको प्रतीक’का रूपमा चिनियाँ लगानीको प्रस्ताव गरेका हुन्।

लगानीबारे चीनले जवाफ दिएको छैन, तर सम्भाव्यता अध्ययन गर्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन सहमति जनाएको छ। ‘हामीले नेपाल चीन मित्रताको प्रतीकका रूपमा रेलमार्गमा सम्पूर्ण लगानी गरिदिन चीनलाई आग्रह गरेका छौँ,’ चीनबाट फर्केका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने।

चीनले सन् १९६० को दशकमा खासा–तातोपानी नाका हुँदै कोदारी राजमार्ग मित्रताको प्रतीकका रूपमा निर्माण गरेको थियो । सरकारले सोही मोडालिटीमा रेलमार्ग निर्माणका लागि आग्रह गरेको हो । परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘लगानीका सन्दर्भमा हामी अन्य विकल्पमा पनि छलफल गर्न खुला छौँ।’

औपचारिक वार्तामा ज्ञवालीले रेलमार्ग निर्माणपछि नेपालबाट रेल चढेर चीन जाने आफ्नो धोकोसमेत समकक्षी वाङलाई सुनाएका थिए । रेलमार्ग निर्माणका लागि करिब तीन खर्ब ३७ अर्ब लाग्ने अनुमान छ। चिनियाँ 'सफ्ट लोन' लिने वा अनुदान माग्ने भन्नेमा प्राविधिक तहमा कुराकानी नभए पनि राजनीतिक तहमा पहिलोपटक नेपालले चीनलाई प्रस्ताव गरेको छ ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.