|
सांकेतिक फोटो

तेह्रथुम :  तेह्रथुमका चौध वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छ।  जिल्लाका १४ वटा स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी नौ हप्तासम्मको गर्भपतन गर्न पाउने सेवा सञ्चालन भएको छ।

सुरक्षित गर्भपतन गर्न पाउने महिलाको प्रजनन स्वास्थ्य अधिकार दुर्गम बस्तीका महिलाले उपभोग गर्न थालेका छन्। कानुनी रूपमा गर्भपतनले मान्यता पाएपछि सरकारले निःशुल्क सुरक्षित गर्भपतनको सेवासमेत थालेको थियो। तर सदरमुकाममा रहेको जिल्ला अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा सो सेवा विस्तार हुन सकेको थिएन। अब आइपास नेपालको सहयोगमा जिल्ला अस्पतालसहित संक्रान्तिबजार र वसन्तपुरका प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि सो सेवा शुरु भएको छ। 

यस्तै चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ र आङबुङ स्वास्थ्य चौकीबाट समेत औषधिको प्रयोग गरी सुरक्षित गर्भपतन सेवा प्रदान भइरहेको छ। यस्तै सोल्मा, हमरजुङ, ओख्रे र फाक्चामारा स्वास्थ्य चौकीबाट पनि गर्भपतन सेवा शुरु भएको जिल्ला स्वास्थ्य प्रमुख डा.मुक्तिनारायण शाहले बताए। 

सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि जिल्लाभर २६ जना दक्ष स्वास्थ्यकर्मी खटिएका छन्। सूचीकृत स्वास्थ्य संस्था र दक्ष स्वास्थ्यकर्मीबाट मात्रै निःशुल्क गर्भपतन सेवा लिन जिल्ला स्वास्थ्य कार्यालयको आग्रह रहेको छ। सेवा शुरु भएको पहिलो वर्ष नै जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या वृद्धि भएको छ। 

यो वर्षको चैत मसान्तको अवधिमा १६० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। नेपालमा महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ सूचीकृत स्वास्थ्य संस्थाबाट पतन गर्न पाइने कानुनी व्यवस्था रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.