‘म मुखिया बन्छु, त्यसपछि बस्तीका सबैलाई पढाउँछु’

|

  • उदयराज अधिकारी

दैलेख : डुंगेश्वर गाउँपालिका–६ वडारखोलाको किनारमा स–साना ४९ वटा छाप्रा भएको राउटे वस्ती छ। वस्तीमा प्रायः नयाँ व्यक्ति आउजाउ गरिरहन्छन्। त्यसरी पुग्नेमा नेपाली मात्र होइन विदेशी पनि पुग्छन्। वस्तीका २० वर्षीय युवक दीपक शाही त्यहाँ आउने जोकोही नयाँ मानिसलाई आफ्नो इच्छा सुनाउँछन, ‘मलाई जागिर खाने इच्छा छ, पढ्न पनि मन छ। तर, मुखियाले स्कुल जान दिँदैनन्। तपाईले कतै जागिर मिलाइदिनु हुन्छ?’

दीपकका कुरा यतिमा रोकिँदैन। वस्तीको एउटा छाप्रा नजिकै भेटिएका उनले आफ्ना दुखेसो पोखे, ‘आजसम्म स्कुल जान पाइएन, जंगलमा बस्ने मान्छे कसरी स्कुलमा पढ्न जानु, अब नपढेको मान्छेले जागिर पनि पाइँदैन, जागिर मिलेको भए हामी जंगलमा भोकभोकै बस्नु पर्दैनथ्यो कि।’

दीपक बोलिरहँदा उनका बुवा भने निशब्द थिए। किनकि, उनीसँग छोराको जागिर खाने इच्छा पूरा गरिदिने सामर्थ्य थिएन। त्यसैले घामपानी समेत छेक्ने नसक्ने सानो छाप्रोभित्रै दीपकको जागिर खाने सपना दबिएको छ। 

जागिर खाने रहर दीपकलाई मात्र छैन। २० वर्षीय दिशबहादुर शाहीलाई पनि जागिर रहर छ। उनी प्रहरीमा जागिर खाने बताउँछन्। ‘जंगलमा सिकार छैन, काठको काम पनि हुन छोड्यो,’ उनले भने, ‘अब जागिर खाने हो, नपढेको भए पनि केही जागिर त मिल्छ होला नि। मिल्ने भए आफूलाई प्रहरीमा जागिर खाने रहर छ।’

पछिल्लो समय जंगलमा काठ काट्न र सिकार खेल्न पनि नपाएकाले पेट भर्नकै लागि आफूहरूलाई जागिर चाहिएको दिशबहादुरले बताए। जागिर खाए शहरमा घुम्न पाइने र नयाँ लुगा लगाउन पाइने उनको भनाइ छ।

घुमन्ते जीवन बिताइरहेका राउटे समुदायमा कसैले पनि शिक्षा आर्जन गरेका छैैनन्। शिक्षा आर्जन गर्नु हुँदैन भन्ने उनीहरुको मान्यता छ। तर, पछिल्लो पुस्ताका राउटे युवाहरु अशिक्षाका कारण आफूहरूले दुःख पाएको महसुुस गर्न थालेका छन्। शिक्षा आर्जन गरी जागिर खाने रहर उनीहरुमा छ। 

उक्त समुदायमा रहेको अन्धविश्वास बिस्तारै हट्दै जानेमा विश्वस्त छन् दीपन। ‘बिस्तारै परिवर्तन हुँदै जाला, सबै ठीक होला,’ दीपकले भने, ‘पहिला त चप्पल पनि लाउन दिँदैनथे मुखियाले, बिस्तारै चप्पल लगाउन थालेका छौं। स्कुल जाने दिन पनि आउँला।’

जिज्ञासु स्वभाव र हँसिलो मुहारका दीपक नयाँ मान्छेलाई जागिर खाने इच्छा मात्र सुनाउँदैनन्, राउटे बस्तीमा शिक्षकको व्यवस्था गरेर पढाइको व्यवस्था गरिदिन आग्रह पनि गरिरहन्छन्। ‘हामीलाई स्कुल जान सम्भव छैन,’ उनले भने, ‘बरु बस्तीमा मास्टर ल्याउनुपर्‍यो, हाम्रा मुखियालाई सम्झाइदिनुपर्‍यो।’ उनले मुखियाले नमानेकाले नै आफूहरू विद्यालय जान नसकेको बताए।

मुखिया बन्ने धोको

राउटे समुदायमा शिक्षा आर्जन गरे पाप लाग्छ भन्ने मान्यता छ। यही मान्यताका कारण अलिहेसम्म कसैले पनि विद्यालयबाट औपचारिक शिक्षा लिएका छैनन्। यो समुदायमा मुखिया नै निर्णायक हुन्छन्। मुखियाको आदेश नै राउटेका लागि कानुन सरह हो। 

दीपकलाई यो मान्यता मन लागेको छैन। उनको पढ्नुपर्छ भन्ने मान्यता छ। नपढी जागिर खान पाइँदैन भन्ने बुझेका दीपकलाई मुखिया बनेर आफ्नो समुदायमा शिक्षा दिने धोको छ। ‘अब हामीले पनि पढ्नुपर्छ, नपढेर त जागिर नै पाइँदैन,’ उनले भने, ‘रहर भएर के गर्नु मुखियाले नमानेपछि कसैको केही चल्दैन। अब बिस्तारै मै मुखिया बन्छु, त्यसपछि बस्तीका सबैलाई पढाउँछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.