|

आज अप्रिल २२ अर्थात्, नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको दिन। ६९ वर्षअघि आजकै दिन निरंकुश जहानियाँ राणा शासनका विरुद्धको आन्दोलनका लागि भन्दै नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। २२ अप्रिल १९४९ अर्थात् २००६ बैशाख १० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। संस्थापक नेता पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ हुन्।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएयता पटक पटक फुट्ने र जुट्ने क्रम जारी छ। २००६ सालयता मात्र कम्युनिस्ट पार्टी फुटेर डेढ दर्जन बढी पार्टी बनेका छन्। कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग थाहाखबरका चिरञ्जिवी घिमिरेले गरेको संक्षिप्त कुराकानी :

कम्युनिस्ट पार्टीको विशेषता के हो?

वास्तविक कम्युनिस्ट जनमुखी, जनताको पक्षधर राष्ट्रियता र देशभक्तको पक्षमा हुन्छ। कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको नेतृत्व गर्नेलाई कम्युनिस्ट भनिन्छ।

अहिले नेपालमा कम्युनिस्ट पार्टी कति पुगे?

विभिन्न समयमा फुट्दै र जुट्दै गरेका कम्युनिस्टहरू अहिले नेपालमा १८ वटा पार्टीको हाराहारीमा विभाजित् छन्।

नेपालका कम्युनिस्ट पार्टी वास्तविक कम्युनिस्ट हुन् त?

यिनीहरू वास्तविक कम्युनिस्ट होइनन्। पढेलेखेका, टाठाबाठा अफ्नो महत्त्वकांक्षाका लागि हँसिया-हथौडा ट्रेडमार्कको रूपमा प्रयोग गर्ने तत्त्वहरू हुन् यिनीहरू। नेपालका कम्युनिस्टहरू आफ्नो फाइदाका लागि विचारधारालाई प्रयोग गर्छन्। 

नेपालमा कम्युनिस्ट पार्टी किन फुट्छन्?

कम्युनिस्टभित्र तानाशाही हुन्छ। तानाशाही भएपछि मान्छेले आफ्ना कुरालाई सफलीभूत देख्दैन। त्यसको निकासको रूपमा पार्टीलाई फुटाउँछ।

कम्युनिस्ट पार्टी बेलाबेलामा एक हुने गरेका छन्। एजेण्डाका लागि मिल्छन् कि शक्ति सञ्चयका लागि?

होइन, आफ्नो पदीय व्यवस्थापन र पदलाई लामो समय टिकाउनका लागि मिलेको नाटक गर्छन्। मिल्ने भनेको देश र जनतालाई प्रतिफल पाउनका लागि मिल्ने हो। जस्तो : मालेकालमा २०३५ को दशकमा सानासाना समूहहरू मिलेका थिए।

त्यो मिलाइले गर्दा २०४६/०४७ सालको परिवर्तन भयो। त्यसैगरी २०४८ सालदेखि नै एकता केन्द्र भनेर अहिलेको माओवादी केन्द्र पक्षका समूह पनि मिले, त्यसको परिणाम देशले जनयुद्ध पायो। शक्ति सञ्चय भनेको त्यो हो।

तर न २०४७ पछि एमालेले त्यो शक्ति सञ्चय र परिवर्तनलाई जनताको पक्षमा पार्न सक्यो, न २०६३/०६४ पछि माओवादीले त्यो परिवर्तन र शक्ति सञ्चयलाई जनताको पक्षमा पार्न सक्यो। दुवैले आआफ्नो पद प्राप्तिका लागि, फाइदाका लागि प्रयोग गरे।

यस्तै, आफ्ना छोरी, बुहारी र श्रीमतीहरूलाई मन्त्री, महामन्त्री बनाउनका लागि उनीहरूले कम्युिनस्टको ट्रेडमार्कलाई प्रयोग गरे। त्यो कम्युनिज्म होइन। आफ्नो स्वार्थका लागि एकता भएको हुनाले त्यो कम्युनिस्टसँग सम्बन्धित कुरा होइन। खाली मान्छेको अवसर र महत्त्वसँग सम्बन्धित कुरा मात्र हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.