|

केही महिनादेखि आक्रान्त छ विश्व– तेस्रो विश्वयुद्धको त्रासबाट। पहिले अमेरिकाली राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनको वाकयुद्धले संसार ततायो। झण्डै हानाहान जस्तो स्थितिमा पुगेको त्यो मिसाइल र वाकयुद्धमा कोरियाली नेता किमले युद्ध जिते र दक्षिण कोरियासँगको एकीकरण परिणाममुखी हुने ठाउँमा पुर्‍याए। 

प्रष्टै छ, यसपालिको मिसाइल र कूटनीतिक युद्धमा ट्रम्प हारे, किमले जिते। ‘मस्ट टेररिस्ट स्टेट’ भनी अमेरिकाले संबोधन गरेको उत्तर कोरियासँग, दक्षिण कोरियामार्फत होइन, अमेरिका आफैँले वार्ता गर्ने प्रस्ताव पठाएको छ। यस्तो स्थितिमा अमेरिकाको अनधिकृत हस्तक्षेप भएन भने कोरियाको एकीकरणलाई अब कसैले पनि रोक्न सक्दैन। दक्षिण कोरियाले पनि एकीकृत कोरियाको शक्तिबाट फाइदा लिनुपर्छ, अमेरिकाको पछि लागेको जापानले पूर्वी एसियामा शान्ति स्थापनाको यो प्रयत्नलाई सहयोग गर्नुपर्छ। 

नेपाली बुद्धिजीवीहरू टिप्पणी गर्न सिपालु हुन्छन् तर तिनीहरू अमेरिकाविरुद्ध बोल्न चाहँदैनन्। डोनाल्ड ट्रम्मको सबैभन्दा बढी आलोचना अमेरिकामै हुन थालेको छ। उनका सल्लाहकारहरूले समेत ‘ट्रम्प राष्ट्रपति हुनलायक छैनन्’ भनिसके। तर नेपालका बुद्धिजीवीहरू अमेरिका र कोरियाको वाकयुद्धमा मौन बसे। ‘हतियार समस्याको समाधान होइन, वार्ता समस्याको समाधान हो’ भनेरसम्म बोल्न सकेनन्। 

कोरिया र अमेरिकाको हानाहान, तानातानमा अमेरिकाको हर्कत सदैव विरोधयोग्य छ। उहिले सन् १९५०–५३ मा अमेरिकी बमले ध्वस्त र अद्र्धध्वस्त बनाएका संपदाहरू अहिले पनि उत्तर कोरियामा संरक्षित छन्। त्यतिबेला कोरिया प्रशान्त महासागर तरेर अमेरिकामाथि आक्रमण गर्न गएको होइन। अमेरिका विना कारण महासागर पार गरेर कोरियामाथि जाइलाग्न आएको हो। अमेरिका हुँदैनथ्यो भने कोरिया विभाजित पनि हुँदैनथ्यो। त्यसैले सबैले बुझ्नुपर्छ कोरिया–अमेरिका संबन्धमा सधैँभरि अमेरिकाकै दोष बढी छ र अहिले पनि अमेरिकाले महासागर पार गरेर कोरियाविरोधी गतिविधि गरेन भने दुई कोरिया एक हुनेछन् र पूर्वी एसियामा शान्ति छाउनेछ।

त्यसैले अमेरिका र कोरियाबीचको द्वन्द्वले विश्वयुद्ध हुँदैन। उत्तर कोरियाले जेजति सैन्य प्रविधिको विकास गरेको छ, त्यो सबै आत्मरक्षाका लागि गरेको छ। बेलाबेलामा त्यो अमेरिकालाई चेताउन परमाणु बमको त्रास दिइरहन्छ तर उत्तर कोरियाका कारण विश्वयुद्ध हुँदैन।

अब लागौँ, सिरियातिर। सिरियामाथिको अमेरिका, बेलायत र फ्रान्सले गरेको आक्रमणलाई हतारमा टिप्पणी गर्नेहरूले तेस्रो विश्वयुद्धको थालनी भनिहाले। अमेरिका र त्यसका सहयोगीहरूले पनि सिरियामाथि रसायनिक आक्रमण गरे र घोषणा गरे– हामीले सिरियाको परमाणु अस्त्र निर्माण गर्ने कारखाना ध्वस्त पार्‍यौँ। यो हमलाले विश्वलाई एकपल्ट अमेरिकाले इराकमाथि आक्रमण गरेको घटना सम्झायो। इराकसँग कुनै परमाणु हतियार छैन भनेर संयुक्त राष्ट्रसंघको पर्यवेक्षक टोलीले भन्दाभन्दै पनि अमेरिकाले इराकमाथि परमाणु हतियार छ भनेर आक्रमण गरेको थियो र सद्दाम हुसेनलाई अन्यायपूर्ण ढंगले मारेको थियो। अहिलेको सिरियामाथिको अमेरिकी हमलालाई विश्वजनमतले त्यही आक्रमणको दोस्रो संस्करण ठान्यो र त्यसको विपक्षमा उभियो। 

अहिले विश्वयुद्धको संभावना टरेको छ तर विश्वयुद्धको संभावना टर्नु भनेको विश्वशान्तिको स्थापना हुनु हो भनेर कसैले बुझ्नुहुँदैन। विश्वमा पुँजीवादको उपस्थिति रहेसम्म विश्वशान्तिको संभावनाको कल्पना पनि गर्न सकिन्न। तर क्षेत्रीय शान्ति प्रयत्नले विश्वयुद्धको त्रासदीलाई घटाउने काम हुन्छ र विश्व अहिले त्यो दिशामा अघि बढेको छ। 

अमेरिकाविरोधी आवाज दक्षिण अमेरिकाको अर्जेन्टिनादेखि दक्षिण एसियाको भारतसम्म सार्वजनिक रूपमै देखापर्‍यो। स्वयम् बेलायतमा प्रधानमन्त्री थेरेसा मे आलोचित भइन्। उनी प्रतिपक्षी दलबाट मात्र आलोचित भइनन्, बेलायतको ठूलो बौद्धिक समुदायले उनले गलत काम गरेको भनी आलोचना गर्‍यो। फ्रान्स विचरोको कुरो अहिले नगर्दा नै होला। रेल हडताल, पाइलट हडताल भोगिरहेको त्यसले अमेरिकाको आदेश ‘हुन्छ सा’ब’ भनेको मात्रै हो।

तर सिरियाले अन्य शक्ति राष्ट्रको सहायता पायो। रुसले सिरियालाई सहयोग गर्‍यो। इरान र टर्कीले सिरियालाई सहयोग गरे। रुसले आक्रमणकारीले हानेको मिसाइललाई आकाशमै सिध्याउने प्रविधिको सहयोग गर्‍यो। आक्रमणको भोलिपल्ट त्यसै अमेरिकाले आक्रमण रोकेको होइन। उसले देख्यो– संसार उसले बुझेजस्तो छैन। अहिलेको विश्व सन् १९५० जस्तो छैन। जथाभावी धेरै गर्‍योे भने अमेरिकामा फेरि ‘नाइन इलेभेन’ जस्तो हमला हुनसक्ने संभावनाबाट ट्रम्प डराए।

अहिले विश्वयुद्धको स्रोत अमेरिका नै हो, ट्रम्प नै हुन् भन्न गाह्रो मान्नुपर्दैन। तर उनी हिटलरजति बुद्धिहीन नहोलान्। त्यसैले उनले उत्तर–दक्षिण कोरियाबीच सकारात्मक वार्ता हुने भो भनेर बुझ्नेवित्तिकै आफ्नो विश्वासपात्रलाई उत्तर कोरियासँग वार्ताको तयारी गर्न लगाइहाले। ट्रम्पलाई हिजो धम्कीको हतारो थियो भने आज वार्ताको हतारो भएको छ।

यसैले अहिले विश्वयुद्धको संभावना टरेको छ तर विश्वयुद्धको संभावना टर्नु भनेको विश्वशान्तिको स्थापना हुनु हो भनेर कसैले बुझ्नुहुँदैन। विश्वमा पुँजीवादको उपस्थिति रहेसम्म विश्वशान्तिको संभावनाको कल्पना पनि गर्न सकिन्न। तर क्षेत्रीय शान्ति प्रयत्नले विश्वयुद्धको त्रासदीलाई घटाउने काम हुन्छ र विश्व अहिले त्यो दिशामा अघि बढेको छ। 

दक्षिण एसियामै भारतभित्र आफ्नो भूमिकाको बहस सुरु भएको छ। अब हामी जस्ताले भारतको भूमिका ठूल्दाजुको जस्तो भएको हुनाले सबै छिमेकीसँग त्यस सम्बन्ध बिग्रिएको हो भनिरहनुपरेको छैन। स्वयम् भारतभित्रबाटै यस्तो आवाज उठ्न थालेको छ। विस्तारै भारतीय बुद्धिजीवी र विश्लेषकहरू बेलायती उपनिवेशवादी चेतबाट मुक्त हुन थालेका छन्। यसको असर विस्तारै नयाँ दिल्लीको शासक गुटसम्म पुग्नेछ। स्वयम् कोरियाली प्रायद्वीपमा अन्तरकोरियाली वार्ता हुनुपर्ने तथा कोरिया एकीकरणको आवाज बलियो भएको छ। यसो भन्नुको अर्थ जादूको छडीले छुनासाथ राजकुमारीको बेहोसी टुटेको दन्त्यकथाको जस्तो जादूगरी परिणामको अपेक्षा गरिएको होइन। यी त परिवर्तनका दीपशिखा मात्र हुन्।

यतिबेला बुझ्नुपर्ने भनेको अमेरिकाले मात्रै हो। हो, सबैभन्दा विनाशकारी हतियार त्यसैसँग छ। तर सोभियत संघको विघटनपछि विश्वको एकल मालिक भएको भ्रमबाट त्यसले बाहिर निस्किनै पर्छ। त्यसको उन्माद जताततै पराजित भएको छ। उत्तर कोरिया जस्तो सानो राष्ट्रले त्यसको सातो खाएकै हो। उसले आफ्नो प्रभाव क्षेत्र मानेको दक्षिण अमेरिकामा पनि  उसको हैकमको विरोधमा आवाज उठ्न थालेको छ। सिरियाबाट एक झमटमै उसले फिर्ता हुनुपरेको छ। उसको बन्दुके चेतनालाई अमेरिकाभित्रैका शिक्षक र विद्यार्थीहरूले विरोध गरेका छन्। यी सब अमेरिकी साम्राज्यवादको पतनका संकेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.