|

चितवन : खानेपानीमन्त्री बिना मगरले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्ने बताएकी छन्। कंचनपुरबाट क्यान्सर जाँचका लागि आएका बिरामी भेट्न अाइतबार (आज) अस्पताल पुगेकी मन्त्री मगरलाई अस्पताल प्रशासनले गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री मगरले अस्पतालको सेवामा सबैको सहज पहुँचका लागि क्षमता र शाखा विस्तार गर्नुपर्ने बताएकी हुन्।

‘क्यान्सरको समस्या देशैभरि विकराल छ। क्यान्सरको जाँच र उपचारका लागि सबै क्षेत्रमा शाखा खोल्नुपर्छ’, मन्त्री मगरले भनिन्, ‘क्यान्सरको उपचारका लागि विश्वासिलो बनेको अस्पताल सेवालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ।’

गरिबी र अशिक्षाका कारण ग्रामीण क्षेत्रका महिलामा स्तन र पाठेघरको मुखको क्यान्सरको समस्या रहेको पनि उनले बताइन्। ‘कंचनपुरमा क्यान्सर जाँच शिविर संचालन गर्दा विकराल अवस्था देखियो। सबै महिलाको क्यान्सर जाँच र उपचारका लागि अस्पतालले क्षमता बढाउनुपर्छ’, मन्त्रीको भनाइ थियो। मन्त्री मगरको पहल तथा क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कंचनपुरमा चैत १८ गतेदेखि २१ गतेसम्म संचालित स्तन तथा पाठेघरको मुखको क्यान्सरको जाँच शिविरमा झण्डै दुई हजार महिलाले स्वास्थ्य जाँच गरेका थिए।

शिविरमा क्यान्सरको आशंका गरिएका १४ जना महिला विशेषज्ञ जाँचका लागि चितवन आएका छन्। विशेषज्ञ जाँचका आधारमा उपचार प्रक्रिया अगाडि बढाइने अस्पतालका क्यान्सर रोकथाम विभाग प्रमुख किशोर प्रधानांगले बताए। उनका अनुसार १४ जनामध्ये चार जनाको पाठेघरको मुखमा मासु पलाएको, दुई जनाको पाठेघरमा घाउ भएको र छ जनाको पाठेघरको पानी खसेको प्रारम्भिक जाँचमा देखिएको थियो। 

मन्त्री मगरको स्वागत कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक शिवजी पौडेलले चितवनलाई मेडिकल सिटीको रूपमा विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बताए। 'क्यान्सर अस्पताल मेडिकल सिटीको मेरुदण्ड हो', निर्देशक पौडेलले भने, ‘केन्द्रीय अस्पताल भएकाले क्यान्सर अस्पताल केन्द्रीय राजनीति र सरकारका योजनाबाट प्रभावित हुन्छ।’ 

अस्पताललाई २०० शैयाको बनाउन र नयाँ उपकरण जडान गर्ने तयारी भइरहेको निर्देशक पौडेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.