|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टी घोषणाको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। एमाले-माओवादी पार्टी एकता संयोजन समितिले कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले पार्टी एकताले अन्तिम रूप लिन लागेको दाबी गरे।

उनले आज (आइतबार) नै एकता घोषणा गर्ने तयारी भएको भए पनि केही त्रुटिका कारणा घोषणा गर्न नसकिएको बताए। उनले भने, 'पछिल्लो समय ओलीजी र मैले गहन छलफल गरेका छौँ। आजको दिन एकताको औपचारिक घोषणा र नयाँ केन्द्रीय कमिटी गठन गर्ने उद्देश्य थियो। त्यसमा केही त्रुटि हुन गयो। हामी पार्टी एकता घोषणाको अन्तिम तयारीमा छौँ।' उनले पार्टी एकता छिट्टै घोषणा गर्ने बताए।

कम्युनिस्ट एकताको आधार तयार भएकाले एकता छिट्टै हुने उनको भनाइ थियो। उनले भने, 'आज हामी पार्टी एकताको अन्तिम बिन्दुमा छौँ। नयाँ केन्द्रीय कमिटी घोषणाको अन्तिम चरणमा छौँ र छिट्टै घोषणा गर्नेछौँ।' उनले एमाले र माओवादी मात्र होइन, अरू कम्युनिस्ट पार्टीलाई पनि एकता समाहित गराउने बताए।

परिपक्व ढंगबाट एकता गर्दा केही ढिला हुन गएको उनको भनाइ थियो। उनले भने, 'तपाईंहरूलाई बिग्रेला जस्तो लाग्ला तर त्यस्तो होइन। हामीबीच गम्भीर छलफल भइरहेको छ। हामी एकतालाई दिगो बनाउने गरी छलफलमा छौँ। हामी समानताका आधारमा एकता गर्छौं।' 

चुनावमा गठन्धन गरेजस्तै 'सरप्राइज' दिएर एकता गर्ने प्रचण्डले बताए। उनले भने, 'बैशाख ९ मा एकता हुन्छ भनेर कार्यदलले सुझाव दियो। हामीले पनि ठीकै हो भन्यौँ तर हामीले निर्णय नै गरेका थिएनौँ। तर मिडियाले बाहिर ल्याइदियो कि ९ गते नै एकता हुन्छ। ओलीजी र मैले भनेका दिन होइन, नभनेका दिन गठबन्धन गरेजस्तै एकता घोषणा गर्छौं।'

उनले थाहै नदिई एकता घोषणा गर्ने बताए। उनले भने, 'हेर्दै जानु होला तपाईंहरूले थाहा नपाएको दिन एकता हुन्छ। बैशाख ९ मा एकता गर्ने भन्ने हल्ला थिायो। हल्ला भएपछि त्यो दिन हुँदैन भन्ने बुझे हुन्छ। जुन दिन हुँदैन भनेका छौँ, त्यो दिन ड्याम्मै हुन्छ।'

उनले एकता गर्दा एकअर्काको भावना बुझ्नुपर्ने पनि बताए। उनले भने, 'हामीले एकअर्काको संवेदनशीलता बुझिदिनुपर्छ। माओवादीले एमालेका र एमालेले माओवादीका संवेदनशीलता बुझिदिनुपर्छ। नेतालाई उल्टोपाल्टो कुरा लगाउने होइन, कानमा घोचिदिनुभयो भने फरक पर्छ, हामी पनि मान्छे हौँ।'

माओवादी र एमालेबीच पहिलादेखि नै बहस र छलफल भइरहेको उनले प्रस्ट पारे। उनले भने, 'एमाले र माओवादीको सम्बन्ध पछिल्लो समय गहन संवाद भएको थियो। हामीबीच युद्धलाई शान्तिपूर्ण समाधानमा ल्याउन घनीभूत छलफल भएको थियो र १२ बुँदे हुँदै जनआन्दोलनको आधार स्थापना भयो। यसमा एमालेको पनि भूमिका छ। त्यसमा कांग्रेसलाई पनि समाहित गराउँछौँ।'

एमाले र माओवादीकै कारण गणतान्त्रिक संविधान र धर्म निरपेक्षतासहितको संविधान बनाउन पहल लिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.