|
फाइल फाेटाे

काठमाडाैँ : संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले तोकिएको समयभित्र काम सम्पन्न नगर्ने कर्मचारीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्। राज्यमन्त्री बाँस्कोटाले मन्त्रालयले आगामी एक सय दिनभित्र गर्ने कामको विवरण आइतबार मन्त्रालयमा सार्वजनिक गर्दै तोकिएकै मितिमा काम सम्पन्न नभए ती निकायलाई कारवाही गर्न बाध्य हुने बताए।

राज्यमन्त्री बाँस्कोटाले काम गर्नका लागि राजनीतिक नेतृत्वको तर्फबाट आफूले आवश्यक वातावरण बनाउने पनि पटक-पटक दोहोर्‍याए। राज्यमन्त्री बाँस्कोटाले समय सीमा तोकेरै जनताको सेवालाई प्रभावकारी बनाउन आफूले पनि सय दिने कार्ययोजना सार्वजनिक गरेको स्पष्ट पारे। राज्यमन्त्री बाँस्कोटाले काम नगर्ने कर्मचारीलाई कुनै पनि बाहानामा क्षमा गर्न नसकिने पनि स्मरण गराए।

राज्यमन्त्री बाँस्कोटाले राम्रो काम गर्न कसैलाई सोधिरहन नपर्ने बताए। उनले सार्वजनिक गरेको कार्ययोजनामा तीन महिनाभित्र सबै केन्द्रीय निकायहरूमा सरकारी इमेल प्रणाली संचालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ। त्यसैगरी छ महिनाभित्र सबै निर्वाचित पदाधिकारी र अधिकृतस्तरका कर्मचारीहरूलाई समेत सरकारी इमेल उपलब्ध गराउने उल्लेख गरिएको छ।

सरकारले मोबाइल सेटको प्रयोग गरी हुने अवैध कारोबार तथा क्रियाकलापहरू नियन्त्रण गर्न प्रत्येक मोवाइल सेटको ‘इक्विपमेन्ट आइडेन्टिटी रेजिष्ट्रेशन’ अभिलेखीकरण गर्ने संयन्त्र तयार पारी लागू गर्ने योजना पनि अघि सारेको छ। त्यसैगरी कार्ययोजनामा मन्त्रालय र त्यसअन्तर्गतका नयाँ संगठन संरचना स्वीकृत गरी लागू गर्ने, हुलाक बचत बैंकलाई स्थानीय तहसम्म विस्तार गरी साना बचतकर्ताका लागि बैंकिङ पहुँच पुर्‍याउनका लागि हुलाक बैंकको रूपमा विकास गर्न आवश्यक अध्ययन गर्ने पनि उल्लेख गरिएको छ।

त्यसैगरी संचार मन्त्रालयले विद्युतीय कारोबार, साइबर सुरक्षा जस्ता विषयहरू समावेश गरी सूचना प्रविधिसम्बन्धी कानुनको मस्यौदालाई अन्तिम रूप दिने पनि जनाएको छ।

मन्त्रालयले सरकारी एकीकृत डाटा केन्द्रको व्याकअप केन्द्रको रूपमा हेटौँडामा निर्माण गरिएको ‘डिजाष्टर रिकभरी सेन्टर’ संचालनमा ल्याउने, सरकारी कामकाजलाई विद्युतीय माध्यमको प्रयोग गरी पठाउने कागजातलाई कानुनी मान्यता दिनका लागि सरकारी निकायमा विद्युतीय पत्राचारसम्बन्धी निर्देशिका तयार पार्ने पनि स्पष्ट पारेको छ।

२१ बुँदे १०० दिने कार्ययोजनामा एनालग प्रणालीमा भइरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी देशभरबाट एनालग प्रणाली बन्द गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.