|

चितवन : भरतपुर- १२ चितवनको मुनालचोककी पुनम कर्णका १३ वर्षीय छोरा आदित्य कर्ण केही न केही नगरी बस्नै सक्दैनन्। यसपालि च्याम्प चितवनमा आफ्नो प्रतिभा देखाउन उनले प्लेन बनाए। प्लेन उडाएरै देखाउने उनको धोको थियो तर चाहिएको पार्ट (रिमोट) बजारमा नपाउँदा प्लेन उडाउन भने सकेनन्। 

लिटिल फ्लावर स्कुलमा सात कक्षामा पढ्ने उनको प्रतिभालाई सबैले कदर गरे। अाफूले बनाएकाे प्लेन हातमा लिँदै आदित्यले भने, ‘एक दिन उडाएरै देखाउँछु।’ च्याम्प चितवनमा सहभागी भएपछि आदित्यको मनोबल बढेकोमा आमा पुनम खुसी छन्। 

छोरी ब्रिटिशाको प्रतिभाबारे पूर्ण जानकार नभएकी भरतपुर- ४ लंकुकी झरना बराल अहिले दंग छन्। विगतको भन्दा फरक क्षमता देखाएर अगाडि बढ्दै गरेकी ब्रिटिशा अहिले स्टेज कभर गर्न सक्ने भएकी छन्। ‘स्टेजमा गएर गाउने, नाच्ने, प्रस्तुति देखाउने सबै गरी', छोरीको प्रतिभा हेर्न आइपुगेकी झरनाले खुसी हुँदै भनिन्, ‘अवसर पाई राम्रो लाग्या छ।’ त्यसो त अर्किड कलेजमा पढ्ने भरतपुर- ७ निवासी १४ वर्षीया रोशनी गिरीलाई कला भएर पनि पहिले नाच्न डर लाग्थ्यो। अब त्यो डर उनीबाट हराएर गएको छ। उनी रात्रि क्याम्पमा सहभागी भइन्। सौराहामा थारू कल्चरबारे सिकिन्। अनाथ असहायहरूको जीवन बुझिन्।

‘अरूको पीडा बुझ्ने अवसर मिल्यो, लुकेको प्रतिभा अब जहाँ पनि देखाउन सक्ने भएकी छु’, रोशनीले गर्वका साथ भनिन्, 'अब समाज परिवर्तनमा काम गर्न चाहन्छु।’ उनीहरूमा आफ्नो प्रतिभामात्रै प्रष्फूटन भएको छैन। सामाजिक व्यवहार समेत सिक्ने मौका मिलेको छ।’ यस्तै अवसर पाउनेमा भरतपुर- ५ का दिवस अधिकारी पनि छन्। साथीहरू बिदामा घुम्न जाँदा दिवस भने अहिले सामाजिक व्यवहार सिक्दै आफ्को कला तिखार्न हरदम प्रयासरत छन्। ‘मलाई पहिले बोल्न र स्माइल गर्न पनि आउँदैनथ्याे’, दिवसले भने, ‘अब कुनै पनि स्टेजमा प्रस्तुति दिन सक्छु।’ म मात्र हाेइन,अरू पनि दु:खी रहेछन् भन्ने कुरा दिवसको मनमा गहिरो गरी गढेको छ।

यी बालबालिकालाई यसरी आफ्नो प्रतिभा उजिल्याउन र अरूको दु:ख बुझ्ने अवसर दिएको हो च्याम्प चितवनले। प्रतिभा देखाउनेसँगै, हिँड्ने, बोल्ने, कसरी व्यवहार गर्नेजस्ता विषयमा समेत बालबाकिलकालाई पोख्त बनाउन गरिएको च्याम्प चितवनका कार्यक्रम संयोजक नारायण ढकालले बताए। ढकालले भने, ‘बालबालिकाहरूले गीत, नाटक, नृत्य, विज्ञानसम्बन्धी कला पनि देखाएका थिए।’

बोल्न डराउने बालबालिकाहरू अहिले मजाले फुकेका छन्। सामाजिक व्यवहार र यौन दुर्व्यवहारविरुद्ध प्रशिक्षण दिइरहेकी कल्पना शर्माले साना बालबालिकादेखि नै सामाजिक कुराहरू सिकाउने हो भने उनीहरू सामाजिक बन्दै जाने र असल नागरिक बन्ने बताइन्।

यसपालिको यो दोस्रो कार्यक्रम हो। उक्त प्रतिस्पर्धामा  छनोट भएका ४८ जना साना बालबालिका सहभागी थिए। त्यसमा साना उमेर (७­-१२ वर्ष)का एक समूह र ठूला उमेर (१३­-१६ वर्ष)का ‘मिष्टर एण्ड मिस टिन’ साेमबार भएकाे प्रतिस्पर्धामा बालिकातर्फ अशु श्रेष्ठ र बालकतर्फ दिवस सापकोटा विजयी भएका छन्। विजेता बनेकी अशुले प्रतियोगितामा पपुलर र ट्यालेन्ट विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाउन सफल भइन्।

इप्लानेट प्रा.लि.को सहकार्यमा होलिडेज क्रियसन होमले आयोजना गरेको प्रतियोगितामा सिम्रन भुसाल र सुयोग उपाध्याय फस्ट रनर अप तथा आरजु गौतम र दीपक गौतम सेकेन्ड रनर अप हुन सफल भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.