|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका- ३ गुर्दुमडाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ।

पनौती नगरपालिकासँगको समन्वयमा हुन लागेको विहावर क्षेत्र पर्यटन महोत्सवको अवसरमा उक्त उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारीले बताए। प्याराग्लाइडिङका लागि १५ वटा छाता प्राप्त भइसकेको र सम्बन्धित निकायबाट अनुमतिसमेत लिइसकेको महोत्सव मूल समारोह समितिले जनाएको छ।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले पोखराको वैकल्पिक क्षेत्रको रूपमा गुर्दुमडाँडालाई बनाउन र पनौतीको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि उक्त कार्य गर्न लागिएको बताए। ‘पोखराको प्याराग्लाइडिङ व्यवसायीहरूले विकल्प खोजिरहेको अवस्थामा विहावर क्षेत्र विकल्पको उपयुक्त ठाउँ बन्न सक्छ, त्यसका लागि पनि यो महोत्सवले थप टेवा पुर्‍याउनेछ’, न्यौपानेले भने, 'उक्त डाँडाबाट उडेको प्याराग्लाइडिङ कुशादेवीमा ओह्रालिनेछ।'

यसअघि पनि उक्त डाँडामा प्याराग्लाइडिङ उडानको परीक्षण गरिएको भए पनि अनुमित दिइएको थिएन। अहिले भने अनुमतिसहितको उडान गर्न लागिएको हो। पर्यटकीय र कृषिको सम्भावना बोकेको कुशादेवी विहावर क्षेत्र पनौती बजारबाट करिब चार किलोमिटर दक्षिण–पश्चिममा पर्छ।

आन्तरिक पर्यटनको विकास गर्न आयोजना गर्न लागिएको स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिको महोत्सव आगामी बैशाख १५ देखि १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ। पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले उद्घाटन गर्ने महोत्सवमा प्याराग्लाइडिङ, साइक्लिङ र हाफम्याराथुनलगायतको मुख्य आकर्षण हुनेछ। महोत्सवमा ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

महोत्सवमा दुग्धजन्य पदार्थको प्रदर्शनी गर्ने र त्यससँगै प्रत्येक घरघरलाई महोत्सवमय गराउने तयारी गरिरहेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.